ट्रम्पका कारण अमेरिका र चीन बिच सम्बन्ध बिग्रीदै

अमेरिका

३,पुस । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहारलाई लिएर चीनले आन्तरिक तयारी थालेको छ ।निर्वाचित भएपछि पछिल्लो समय राष्ट्रपति ट्रम्प ताइवान मुद्दा उठाएर चीनसँग निहुँ खोज्ने काम गरिरहेका छन् ।

जसबाट चीन रुष्ट छ र, यस्तो व्यवहार जारी रहे बदला लिनसक्छ ।ट्रम्पलाई ‘अज्ञानी बालक’ भन्दै ताइवानबारे नबोल्न चेतावनी दिएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले भर्खरै एक रिपोर्ट प्रकाशित गर्दै ताइवानमा वाशिगंटनको नीति परिवर्तन भए चीनले बदला लिनसक्ने आशय व्यक्त गरेको छ ।ग्लोबल टाइम्स सरकारको धारणा बोल्नेआधिकारिक पत्रिका हो ।

रिपोर्टअनुसार वासिंगटनले ताइवानलाई सहयोग गर्ने तथा हतियार पठाउने काम गरिह्यो भने चीनले विशेषगरी अमेरिकाले दुःख दिइरहेका अन्य देशलाई सहयोग गर्न सक्छ ।हालसम्म तटस्थ बस्दै आएको चीनले अमेरिकासँग बदला लिन यो कदम चाल्न सक्ने चिनियाँ अधिकारी बताउँछन् ।

भर्खरै, डोनाल्ड ट्रम्पले फक्स न्यूज च्यानलमा विश्वका दुई सबभन्दाठूला अर्थतन्त्रका बीचको सम्बन्धको कोसेढुंगाका रुपमा भन्दा पनि कसैले साटफेर (नेगोसियसन) का लागि एक चीन नीतिलाई अंगालेको हुन सक्ने बताएका थिए ।‘कुटनीतिमा ट्रम्प नयाँ छन् र ताइवानको मामलामा उनको बुझाई धेरै सतही छ ।

उनी व्यापारी हुन् र चीनका लागि ताइवान व्यापारको प्रश्न होइन भन्ने तथ्यलाई उनले महसुस गर्दैनन् । ताइवान नेगोसियसनको विषय बन्न सक्तैन,’ अन्तर्राष्ट्रिय मामलासम्बन्धी चाइना विश्वविद्यालयका प्रोफेसर ली हाइदोङ्गले भने । ग्लोबल टाइम्सका अनुसार उनले एक चीन नीतिमा नेगोसियसन गर्न मिल्दैन भन्ने कुरा पनि बताए ।

यसअघि ट्रम्पले डिसेम्बर २ मा ताइवानका राष्ट्रपतिसंग पहिलो टेलिफोन वार्ता गरेका थिए । र, यो सन्१९७९ यता कुनै अमेरिकी राष्ट्रपतिलेताइवानको कुनै नेतासंग गरेको पहिलो वार्ता थियो । जसलाई ‘एक चीन नीति’को उल्लंघनका रुपमा पनि हेरिएको थियो ।

तत्कालिन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले ‘एक चीन नीति’ अंगाल्दै आधिकारिक रुपमै ताइवानलाई चीनको भाग भएको घोषणा गरेका थिए । त्यही अमेरिकी नीति नै सन् १९७९ यता अमेरिका–चीन सम्बन्धको प्रमुख आधार रहंदै आएको छ ।

Post Comment