राष्ट्रसंघमा अमेरिकी राजदूतमा हिथरको मनोनयन

राष्ट्रसंघमा अमेरिकी राजदूतमा हिथरको मनोनयन
अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नुअर्टलाई राष्ट्रसंघका लागि भावी अमेरिकी राजदूतमा मनोनयन गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।

ह्वाइट हाउसका दुईजना अधिकारीले हिथरको मनोनयन लगभग पक्का भएको बताए । एकजना रिपब्लीकन सहयोगीले राष्ट्रपति ट्रम्पले शुक्रबारसम्ममा हिथरको नाम घोषणा गर्ने जानकारी दिए ।

ट्रम्पले यसअघि नै नुअर्टका बारेमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले गत अक्टोबरमा यसैवर्षको अन्त्यबाट लागू हुनेगरी राजीनामा दिइसक्नुभएको छ । हेलीको राजीनामा राष्ट्रपति ट्रम्पले स्वीकार गर्नुभएको छ । नुअर्टको नाम सिनेटले अनुमोदन गरेमा उनी ट्रम्पको विदेश नीतिका बारेमा बोल्ने एक प्रमुख अधिकारी बन्नुहुनेछ ।

राष्ट्रपति ट्रम्पले गत महिना एक पत्रकार सम्मेलनमा नुअर्ट निकै सक्षम रहेको बताउनुभएको थियो । उहाँले नुअर्टले आफूलाई धेरै पहिलेदेखि मद्दत गरिरहेको पनि जानकारी दिनुभएको थियो । ट्रम्पले औपचारिक रुपमा घोषणा नगर्दासम्म कुनै पनि विषय अन्तिम हुँदैनन् ।

नुअर्टले भने कुनै प्रतिक्रिया दिन अस्वीकार गर्नुभयो ।

अमेरिकी विदेश मन्त्रालयको प्रवक्तामा नियुक्त हुनुअघि नुअर्ट फक्स न्यूज च्यानलमा संवाददाता हुनुहुन्थ्यो ।

Post Comment