पोखरा, २६ मङ्सिर । कास्कीको सिल्दुजुरे गाउँ विकास समिति वडा नं ९ बाहुन डाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाको हालसम्म ७० प्रतिशत निर्माण कार्य सकिएको छ ।
मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको निर्माणकार्य विसं २०७२ फागुन महिनाभित्र पूरा गरिने आयोजनाका प्रमुख रामराज कोइरालाले बताउनुभयो ।मङ्सिर १५ गतेसम्म दुई हजार ५०० मिटर सुरुङ खन्ने काम सकिएको छ । । अब एक हजार ७०० मिटर सुरुङ खन्ने काम बाँकी रहेको छ ।
आयोजनाको विद्युत्गृहको निर्माण कार्य भने सम्पन्न भइसकेको छ ।अनुमानित लागत करिब ६० मिलियन अमेरिकी डलर अर्थात् रु पाँच अर्ब २८ करोड बराबरको रकम स्वदेशी तथा वैदेशिक सहयोग जुटाई उक्त आयोजना पूरा गरिने बताइएको छ ।
कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशतको सहयोगमा २०६९ सालको पुस महिनाबाट आयोजना सुरु गरिएको थियो ।आयोजनाको निर्माण कार्यका लागि चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ब्युरो–१० चेन्डु चाइनालाई कन्ट्याकको अवधारणाअनुसार सम्झौता गरी आयोजना निर्माणको जिम्मा दिइएको छ ।
आयोजनाका लागि पानी फर्काउने बाँध सिल्दुजुरे गाविस वडा नं ४ र नागार्जुन गाविस वडा नं ८ को सिमाना चालुमा पर्छ । यो बाँधको आवश्यक संरचना तयार गरी त्यहाँबाट चार हजार २०० मिटर लामो सुरुङ निर्माण गरी सिल्दुजुरे गाविस वडा नं ९ डाँडाबारीमा पानी खसालिने छ ।
आयोजनाको निर्माणबाट यस क्षेत्रका ५० हजार बासिन्दा प्रत्यक्ष एवम् अप्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । रासस