ललितपुर, २८ मङ्सिर । हाउस अफ राजकर्णिकारले शनिबार सुरु गरेको क्रिसमसमा उपयोग हुने उपहारका सामानको प्रदर्शनीमा रु ३५ लाखको आर्थिक कारोबार भएको छ ।
संस्थाका निर्देशक मुनु राजकर्णिकारका अनुसार हिजोबाट स्टाफ कलेजमा भएको प्रदर्शनीमा सजावजटका ट्रि, बालबालिकाले खेल्ने खेलका सामान, जाडोमा लगाउने लुगा, विद्युतीय सामान, चाँदीका गहना, हस्तकलाका सामानलगायतका सामानको ८० वटा कक्ष राखिएको थियो ।
निर्देशक कर्णिकारका अनुसार पहिलोपटक गरिएको प्रदर्शनीमा आशा गरेअनुसारको दर्शकको आगमन र आम्दानी भएको छ । प्रदर्शनीमा पहिलो दिन १० हजार दर्शकले अवलोकन गरेका थिए भने रु २० लाखको आर्थिक कारोबार भएको थियो । आज अन्तिम दिन पानी परेकाले केही कम कारोबार भएको छ ।
प्रदर्शनीमा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका साथै पोखरा, र सुर्खेतका व्यवसायीले समेत कक्ष राखेका थिए । यस वर्षको प्रदर्शनी पहिलो भए पनि आगामी सालदेखि हरेक वर्ष गरिने आयोजकले जनाएको छ । क्रिसमस यही पुस १० अर्थात् डिसेम्बर २५ मा पर्दछ । रासस