विदेशमा ठगिएका युवाले मेनपावरबाट क्षतिपूर्ति लिए

अर्थ​

खोटाङ, १३ पुस । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ठगिएका खोटाङका चारजना सहित छजना युवाले मेनपावरबाट क्षतिपूर्ति लिएका छन् ।

तोकिएको काम र दाम नपाएपछि कतारबाट स्वदेश फर्काइएका खोटाङ नेर्पाका शङ्कर राई, मोरङ बयरवनका भीम मगर, इटहरीका विश्वास खड्का, मलेसियाबाट फर्काइएका खोटाङ मात्तिमका दीपक घिमिरे, चिउरीडाँडाका तेजबहादुर चौहान र केदार खत्रीले क्षतिपूर्ति लिएका हुन् ।

पिपुल्स फोरमको कानुनी सहायतामा नेपाल फर्काइएका छ युवाले मेनपावरबाट प्रतिव्यक्ति रु २५ हजारदेखि रु ७५ हजारसम्म क्षतिपूर्ति लिएको सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक नवीन्द्र राईले जानकारी दिनुभयो ।गाडीमा स्टीकर टाँस्ने कामका लागि काठमाडौँको मिमोसा मेनपावर कम्पनीबाट कतार पुगेका शङ्कर, भीम र विश्वासले तोकिएको काम र तलब नपाएपछि परियोजनासमक्ष उजुरी दिएका थिए ।

शेर्पा इन्टरनेसनल मेनपावरमार्फत उद्योग श्रमिकका रूपमा काम गर्न मलेसिया गएका तेजबहादुर र केदार सम्झौताअनुसारको काम र तलब नपाएपछि काम छाडेर स्वदेश फर्किएका थिए ।

यस्तै परदेशी मेनपावरबाट मलेसिया पुगेका दीपकले पनि भनेको काम र दाम नपाएपछि निःशुल्क कानुनी सहायतामा स्वदेश फर्किएर क्षतिपूर्ति लिएको बताउनुभयो ।

Post Comment