धनगढी, १४ पुस । आन्तरिक राजस्व कार्यालय धनगढीमा चालु आर्थिक वर्षको गत पाँच महिनामा आयकर र मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुने करदाताको सङ्ख्या बढेको छ ।
सरकारले आर्थिक विधेयक, २०७१ मा करसम्बन्धी छुटको व्यवस्था गरेपछि करदाताको सङ्ख्या बढेको कार्यालयका प्रमुख कर अधिकृत यज्ञप्रसाद ढुङ्गेलले बताउनुभयो ।गत पाँच महिनाको अवधिमा कार्यालयमा आय करतर्फ दुई हजार ६३० व्यवसायी र मूल्य अभिवृद्धि करतर्फ २५८ व्यवसायी दर्ता भएका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निकै कम सङ्ख्याका करदाता कार्यालयमा दर्ता भएका थिए । हालसम्म कार्यालयमा आयकरदाताको कुल सङ्ख्या २९ हजार २५४ र मूल्य अभिवृद्धि करतर्फ कुल तीन हजार २१२ करदाता पुगेका छन् ।
सेती अञ्चल कार्य क्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय धनगढीमा चालु आवको पाँच महिनामा व्यक्तिगत स्थायी लेखा नम्बरमा पनि एक हजार ७८९ व्यवसायी दर्ता भएका छन् हालसम्म करको दायरामा नआएका उद्योग व्यवसायी, चिकित्सक, इन्जिनियर, कानुन व्यवसायीलगायतले विगत तीन वर्षको आय विवरण पेस गरी कर बुझाएमा उनीहरूको यसअघिका सबै कर छुट गर्ने व्यवस्था सरकारको आर्थिक विधेयकले गरेको छ ।
यसैगरी आर्थिक वर्ष २०६९/०७० सम्ममा रु २० लाखभन्दा कम कारोबार देखाई पूर्वानुमानित कर विवरण पेस गर्ने करदाताको कारोबार अङ्कमा फरक परेको वा ‘मिसम्याच’ (नभिडेको) भएको अवस्थामा कारोबार अङ्क घोषणा गरी फरक बिक्री रकममा मूल्य अभिवृद्धि करबापत तीन प्रतिशत र आयकरबापत दुई प्रतिशतसमेत गरी जम्मा पाँच प्रतिशत रकम बुझाई मुअ करमा दर्ता हुनुपर्नेलगायतका व्यवस्था आर्थिक विधेयकले गरेको छ ।
सरकारको यो व्यवस्थासँगै कार्यालयमा गएको पाँच महिनाको अवधिमा ३३ करदाताले फरक रकममा कर दाखिला गरेका छन् । यसरी फरक कर दाखिला गर्दा आय करतर्फ रु २१ लाख ८१ हजार र मूल्य अभिवृद्धि करतर्फ रु एक लाख ३४ हजार राजस्व सङ्कलन भएको छ । करदाताले सही ढङ्गले बिल बिजक जारी नगर्ने, सही मूल्यको बिल जारी नगर्ने र घर बहाल कर अति न्यून देखाई सम्झौता गर्ने प्रवृत्ति देखिएकाले सही ढङ्गले कर नउठ्ने समस्या रहेको ढुङ्गेलले बताउनुभयो ।
कार्यालयले कर चुहावट रोकथामका लागि नियमित रुपमा बजार अनुगमन, सर्वेक्षण लगायतका कार्य गरिरहेको छ । रासस