बलेवा (बागलुङ), १४ पुस । बागलुङको दक्षिण क्षेत्रमा बग्ने ठेउले खोलामा पहिलो पटक ठुलो जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ । उक्त खोलाका विभिन्न स्थानबाट यसअघि आठवटा लघुविद्युत् आयोजना सञ्चालन थिए ।
एउटै खोलाबाट धेरै लघुविद्युत् आयोजना सञ्चालित भएपछि ऊर्जा खोलाको रुपमा चिनिएको उक्त खोलामा बाराही हाइड्रो पावर प्रालिले साढे एक मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजना निर्माण थालेको हो ।गत चैतदेखि कार्य क्षेत्रमा आएको उक्त कम्पनीले हाल बाँध निर्माणको काम गरिरहेको प्रालिका प्रबन्ध निर्देशक सूर्य अर्यालले बताउनुभयो । आयोजनाको सिभिल कन्स्ट्रक्सनका कामअन्तर्गत कुश्मिसेरा गाविस र सकुर्वा गाविसको सिमानामा बाँध निर्माण गरी इन्टेकको काम तीव्र पारेको अर्यालले जानकारी दिनुभयो ।
“सर्कुवा र कुश्मिसेराको सीमामा बाँध निर्माण गरिनेछ” उहाँले भन्नुभयो, “विनामारे गाविसको मसिना पुल नजिकै पावर हाउस निर्माण हुन्छ ।” अर्यालका अनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत्लाई डेढ किलोमिटर पर अमलाचौर गाविसमा राष्ट्रिय प्रसारणमा जोडिने छ । उक्त आयोजनाले २०६६ चैत १७ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ ।
रु २६ करोड ५० लाख लागत अनुमान गरिएको उक्त आयोजनालाई आगामी असारमा सम्पन्न गर्ने प्रारम्भिक तयारी गरिए पनि भौगोलिक विकटताका कारण आगामी मङ्सिरसम्ममा सम्पन्न गर्ने उहाँले बताउनुभयो । “स्थानीयको पूर्व सहमतिअनुसार हामीले काम सुरु गरेका छौँ” अर्यालले भन्नुभयोे, “आगामी मङ्सिरमा आयोजनाबाट विद्युत् उत्पादन सुरु हुन्छ ।”
आयोजनाको कुल लागत रकमको १० प्रतिशत सेयर स्थानीयलाई दिने सहमति भएको छ । आयोजनाको पूर्व तयारीदेखि हालसम्म करिब २२ प्रतिशत काम सकिएको उहाँले बताउनुभयो । रासस