विराटनगर, १८ जेठ । पशु विकास सेवा कार्यक्रमअन्तर्गत जिल्ला पशुसेवा कार्यालयले जेठ मसान्तसम्ममा अनुदानको रुपमा रु ४८ लाख वितरणको तयारी गरेको छ ।
यस कार्यक्रमअन्तर्गत युवालक्षित विशेष उत्पादन कार्यक्रम, बाख्रा प्रवद्र्धन कार्यक्रम र पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत छनोट भएका किसान र व्यवसायी समेत गरी २५ जनालाई सो रकम वितरण गर्न लागिएको वरिष्ठ पशु चिकित्सक सुशील अधिकारीले जानकारी दिनुभयो । पशु विकास सेवाअन्तर्गत युवालक्षित कार्यक्रम कार्यान्वयन कार्यविधिअनुसार गठित मूल्याङ्कन समितिको मूल्याङ्कनको आधारमा जेठ २९ गतेसम्म कार्यक्रम सम्पन्न गर्ने सम्झौता भएको छ ।
युवालक्षित विशेष उत्पादन कार्यक्रम डेरीतर्फ साना, मझौला र ठूला फार्मअन्तर्गत गरी १४ किसान व्यवसायीले अनुदान प्राप्त गर्ने छन् । सोमध्ये साना फार्मअन्तर्गत पाँचदेखि १० वटा गाई भैँंसीपालन गर्ने १० किसानलाई रु १४ लाख वितरण गरिनेछ । छनोटमा परेका प्रत्येक किसानले बढीमा रु एक लाख ४० हजार अनुदान प्राप्त गर्नेछन् ।
त्यसैगरी मझौला फार्मतर्फ ११ देखि ३० वटा गाई भैंँसीपालन गर्ने तीनजना किसानलाई रु नौ लाख वितरण गरिनेछ । प्रत्येक किसानले बढीमा रु तीन लाख प्राप्त गर्ने छन् । ठूला फार्मतर्फ ३१ भन्दा बढी गाई भैँंसीपालन गर्ने एकजना किसानले बढीमा रु चार लाख प्राप्त गर्ने अधिकारीले बताउनुभयो ।
त्यस्तै युवालक्षित बाख्रा प्रवद्र्धन कार्यक्रमअन्तर्गत कम्तीमा ५० वटा माउ बाख्रापालन गर्ने चारजना किसानलाई रु ६ लाख अनुदान रकम उपलब्ध गराइनेछ । प्रत्येक किसानले बढीमा रु एक लाख ५० हजार पाउने छन् । पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमतर्फ सातजना व्यवसायीलाई रु १४ लाख वितरण गरिनेछ । उनीहरुले बढीमा रु दुई लाखसम्म रकम प्राप्त गर्ने बताइएको छ ।