कालजयी बन्दैछन् गाउँका गीतहरू

मंगलबार , साउन ३१, २०७९
विचार

कास्की, २४ मङ्सिर । युगकवि सिद्धिचरण श्रेष्ठले नब्बेको दशकमा नै आफ्नो जन्मभूमिको सम्झनामा ‘मेरो प्यारो ओखलढुङ्गा’ बोलको कविता लेखे । रामेशदेखि नारायणगोपालसम्मले स्वर दिएपछि त्यस कविताले गीतको रुपमा चर्चाको शिखर छोयो र आम नेपालीले गुनगुनाउन थाले । आफू जन्मेको वा घुमेको ठाउँको वर्णनमा कयौँ कवि तथा गीतकारले आफ्ना भावनाहरूलाई यसरी नै पोख्न थाले । यो क्रम अहिले निकै बढेर गएको छ ।

सुन्दरताको अनुपम नगरी पोखराले धेरै स्रष्टालाई अनेक साङ्गीतिक र साहित्यिक भावनाले पोत्दै थुप्रै सिर्जनाहरू जन्माएको छ । गायक सरोजगोपाल बज्राचार्यले ‘देउराली उकाली चढेर, बिजयपुर खोला तरेर’ भन्ने बोलको गीत गाउनुभयो भने कवि तीर्थ श्रेष्ठले ‘मेरै हिमालजस्तो हेरिरहँे पोखरा’ भन्ने गीत लेख्नुभयो ।

पोखराकै बाबा राणाको ‘सुर्खेत बुलबुल ताल, मै सानो हुनाले छुट्यो मायाजाल’ भन्ने बोलको गीत अहिलेका पुस्तामाझ पनि उत्तिकै कर्णप्रिय रहेको छ । समयक्रममा लेखिएका यस्ता गीत र कविताहरूले स्थान विशेषको परिचय मात्र दिएनन्, त्यहाँको वस्तुस्थितिबारे जानकारी पनि पस्केकाले त्यस स्थानको महिमालाई जीवन्त तुल्याएको छ ।

युगकवि सिद्धिचरणलाई पछ्याउँदै पोखराकी गीतकार बसन्ती लालचनले ‘क्या राम्रो स्याउबारी मार्फा गाउँको’ भन्ने गीत लेखिन् । म्युजिक भिडियोसमेत निर्माण गरिएको र सुमधुर सङ्गीत भरिएको सो गीतले निकै चर्चा पाएको छ । ‘त्यो गीतले नै मलाई गीतकारको रुपमा चिनायो, गाउँको गीत यसरी चर्चित भएको देख्दा आश्चर्यमा परेको छु’ गीतकार लालचनले खुसी हुँदै सुनाउनुभयो, “यस गीतले गाउँलाई देश विदेशसम्म चिनाउन पनि खुबै मद्दत ग¥यो ।”

मुस्ताङको थकाली गाउँ हो मार्फा । स्याउको लागि प्रख्यात सो गाउँका थकालीहरू नेपालमा मात्र नभएर संसारभर पुगेका छन् । गीतको चक्का नै बेचेर पनि राम्रै आम्दानी भयो बसन्तीलाई । “क्यासेट बेचेको पैसा मार्फा थकाली समाजलाई नै दिएको हो, करिब ११ लाख रुपैयाँ जम्मा भयो” लालचनले सुनाउनुभयो ।

रमाइलो त के छ भने, मार्फा गाउँको गीत लेख्नेबेलासम्म बसन्ती लालचन आफैँ मार्फा गाउँ जानुभएको थिएन । लालचनका अनुसार गाउँबारे सुनेको, भिडियो र चित्रमा देखेकै भरमा गीतको रचना भएको थियो । गीत चर्चित भएपछि भने उहाँलाई अन्य गाउँका मानिसहरूले पनि आफ्नो गाउँबारे गीत लेख्न आग्रह गर्न थाले । त्यसपछि उहाँले मुस्ताङकै छुसाङ गाउँबारे “छुसाङ मेरो गाउँ”, तनहुँको बन्दिपुर, कास्कीकै पर्यटकीय गाउँ घान्द्रकुलगायतका ठाउँहरूको वर्णन गर्दै गीत लेख्नुभयो ।

गाउँको वर्णन गर्दै गीत लेख्दा सन्तुष्टी मिल्ने धारणा राख्नुहुने उहाँले पर्यटन प्रवद्र्धन गर्न यस्ता गीतहरू सहायक हुने धारणा राख्नुभयो । गीतहरूले गाउँको प्रचारमा प्रभाकारी भूमिका खेलेपछि अहिले देशैभर गाउँका गीतहरू गाउने लहर नै चलेको छ । पछिल्लो समयमा कास्कीका सबैजसो गाउँको वर्णन गर्दै गीतहरू तयार पारिएका छन् ।

प्राज्ञ रमेश श्रेष्ठले समेत विभिन्न गाउँको वर्णन गर्दै गीतहरू लेख्नुभएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासँगको आबद्धताले पनि उहाँलाई गाउँबारे जानकारी लिन र वर्णनमा शब्द खर्चन सजिलो भएको हो ।

सुन्दर गाउँमा पुग्दा कहिले त्यहाँको सुन्दरताले भावुक बनेर तथा कहिलेकाहीँ गाउँलेको आग्रहमा नै आफूले गाउँका गीतहरू लेखेको उहाँ बताउनुहुन्छ । आफूले गाउँको गीत लेख्दा त्यहाँको सांस्कृतिक अवस्था, प्राकृतिक सुन्दरता तथा मानवीय भावना एवम् चालचलनलाई पनि प्रतिविम्बित गर्ने कोसिस गरेको उहाँको भनाइ छ ।

वर्षौं पहिला गाउँ छाडेका र सहरमै रमाएकालाई गाउँ सम्झाउने माध्यम पनि गाउँका गीतहरू बनेको धारणा राख्नुहुन्छ, पोखरा–११, फूलबारीका राजन गुरुङ । पर्वतको भुक्ताङले गाउँबाट पोखरा बसाइँ सरेको उहाँको परिवारका कान्छा सदस्यलाई गाउँ चिनाउने माध्यम सोही गाउँको वर्णन गरी तयार पारिएको गीत बनेको छ । “गाउँमै जन्मेर सहर पसे पनि गाउँको माया नमारेका पुरानो जन्मथलो सम्झन र नयाँ पिँढीलाई गाउँ चिनाउने काम गीतले नै गरेको छ” उहाँले थप्नुभयो ।

घरबास (होमस्टे) कार्यक्रम सुरु गरेका गाउँहरूले त गीतलाई नै पर्यटन प्रवद्र्धनको माध्यम पनि बनाएका छन् । “परापूर्व कालमा पनि गीत प्रचारको माध्यम थियो र अहिले पनि हो,” संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भन्नुभयो, “गाउँको वर्णन गरिएका गीतहरूले लोभिएर गाउँको भ्रमणमा निस्कनु अस्वभाविक हैन ।”

कविभन्दा पनि फिरन्ताको रुपमा कास्कीका धेरैजसो पर्यटकीय गाउँको भ्रमण गरेको बताउनु हुने उहाँले अहिले मिडियामोहका कारण पनि गीतहरू बन्ने गरेको दाबी गर्नुभयो ।
माछापुच्छे« हिमाल नदेखिने कास्कीकै केही गाउँको बारेमा तयार गरिएको गीतमा माछापुच्छे« हिमाल देखाइएको प्रसङ्ग झिक्दै उहाँले भन्नुभयो, “यस्तो चलनले मानिसलाई भ्रमित बनाउने काम पनि भएको छ ।”

पछिल्लो समय लेखिएका “गाउँका गीत”मा गुणस्तरीयता खस्कँदै गएको र फेसनकै रुपमा गाउँका गीतहरू लेख्न थालिएको अनुभव छ सञ्चारकर्मी हुम गुरुङसँग । “ग्रामीण पर्यटनको विकासमा गाउँका गीतहरूले सहयोग भने गरेकै छन्,” उहाँले भन्नुभयो,“यस्ता गीतहरूमा रचना गर्दा मौलिकतालाई पनि ध्यान दिए सुनमा सुगन्ध हुने थियो ।”

प्राज्ञ सरुभक्तको विचारमा अनुभूतिको प्रभावमा स्थान विशेषको बारे रचना गरिएका कविता वा गीतले मात्र त्यहाँको वास्तविकता झल्काउँछ । संरक्षण कविता आन्दोलनमार्फत विभिन्न स्थानमा पुगी त्यहीँको विषयमा काव्यिक सिर्जनामा लाग्नुभएका सरुभक्तले भन्नुभयो, “हेरेर र अनुभूत गएिका विषयहरूमा अडिएर गरिएका सिर्जनाहरूमा माटोको गन्ध हुन्छ, स्थानीय संस्कृतिको सम्मिश्रण हुन्छ ।”

ग्रामीण परिवेशलाई झल्काउँदै गीत, कविताको सिर्जना गर्ने र त्यसमा सुमधुर सङ्गीत भर्ने पोखरेली स्रष्टाहरूको प्रभाव देशका अन्यत्र पनि फैलिएको छ । पश्चिमा संस्कृतिले नयाँ पुस्तामा पारिरहेको प्रभावलाई न्यून गर्दै मौलिक संस्कृति, ग्रामीण जनजीवन र प्राकृतिक सौन्दर्यतालाई समेट्दै गरिएका सिर्जना कालजयी बन्नेछन् ।

यिनै सिर्जनाले राष्ट्रियताको जगलाई मजबुत मात्र बनाउँदैन, राष्ट्रिय पहिचानलाई अझ कसिलो बनाउन मद्दत गर्दछ । रासस(वासुदेव मिश्र)

Post Comment