नारा (जापान), ११ पुस । जापानको ऐतिहासिक तथा पुरातात्विक सहर नाराका बासिन्दा ताचियो निजुकेनलाई त्यो सहरको ऐतिहासिकता र परम्परागत महत्व बचाउन यतिखेर आएर गाह्रो परेको महसुस हुन थालेको छ ।
एकातर्फ जापान विज्ञान प्रविधि र आधुनिक विकासका क्षेत्रमा संसारकै अब्बल उदाहरणका रुपमा अघि बढिरहेको छ भने अर्कातर्फ जापानकै एक ऐतिहासिक सहर नारालाई पुरानै संरचना र परम्पराको पर्यायका रुपमा राख्न पनि त्यति सजिलो छैन । त्यसैले निजुकेन र उनका सहपाठीमा यो कार्यको व्यवस्थापन गर्न गाह्रो परिरहेको महसुस भएको हो ।
नारा जापानको पुरातात्विक र ऐतिहासिक सहर हो । यो जापानको पुरानो राजधानी पनि हो । सन् ७१० देखि ७४ वर्षसम्म नारा जापानको राजधानी थियो । त्यसपछि अर्काे सहर क्योटो करिब एक हजार वर्षसम्म राजधानी रह्यो र त्यसपछि मात्र हालको राजधानी सहर टोकियोमा राजधानी सारिएको हो ।
त्यस समयको जापानी राजधानी सहरको मौलिकता, पुरानै संरचनाका घर, परम्परागत सामाजिक बनोट र त्यहाँका सार्वजनिक सम्पदाको संरक्षण गर्ने अभियानमा रहेका निजुकेन र नारावासीको प्रयासमा पछिल्लो समयमा केही चुनौती थपिएको महसुस भएको छ । निजुकेन भन्छन् – “त्यो समयको मौलिक परम्परालाई जोगाएर राख्न हामीले निकै प्रयत्न गरिरहेका छौँ, तर अहिलेको पुस्ता त्यो पुरानो संरचनामा बस्न सक्दैन, मानिरहेको पनि छैन ।”
त्यहाँका कैयौँ घर सयौँ वर्ष पुराना छन् । ती घरमा जापानको परम्परा त राम्रैसँग झल्किन्छ तर अहिलेको पुस्तालाई त्यतिले मात्र चित्त बुझ्न सकेको जस्तो देखिँदैन । उनी भन्छन् – “साँघुरा घर र एक घरमा एउटा मात्र सामूहिक चर्पी हुँदा असजिलो भएको उनीहरुको गुनासो हुने गर्छ ।”
नारा युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृत जापानी सहर हो । त्यहाँको हजार वर्षभन्दा पुरानो संस्कार र संरचना बचाइराख्न युनेस्को मात्र नभई एसियाका अरु पनि कैयौँ देशले सहकार्य गरिरहेका छन् । सामूहिक संस्थाको स्थापनाका साथै उनीहरु विभिन्न कार्यक्रम गर्ने गर्छन् ।
नारावासीले नै सन् १९७९ मा नारा म्याचिजुकुरी सेन्टर स्थापना गरेका हुन् । यो एक सामुदायिक संस्था हो र यसले त्यस सहरको ऐतिहासिकतालाई जोगाउने र त्यसका लागि पहल गर्ने गर्छ । उक्त संस्थाले नगरपालिकासँग समन्वय गरेर नयाँ निर्माणको काममा पनि स्थानीय नागरिकसँग परामर्श गर्ने गर्छ ।
उक्त सेन्टरका अध्यक्ष हुन् निजुकेन । उनीसमेत यो नगरका पुराना व्यक्ति समुदायमा बस्छन् र परम्परा जोगाउने विषयमा प्रायः हरेक दिन छलफल गर्ने गर्छन् । उनीहरुले तीस वर्षअघिदेखि थालेको यो अभियानलाई हाल नारा जिल्लाभरि पु¥याएका छन् । एक स्थानीय युवक आफ्नो नाम नबताउने सर्तमा भन्छन् – “हामीले यस क्षेत्रको मौलिकता र हाम्रो प्राचीन इतिहासलाई त जोगाउन नै चाहन्छौँ तर पनि विकसित आधुनिकताका कारण हामीलाई त्यो पुरानो संरचनामा बस्न निकै गाह्रो छ । अहिले पहिलाको जस्तो आगो फुकेर मात्र घर न्यानो बनाउने प्रविधिले काम गर्दैन । हामीलाई विद्युतीय हिटर नै चाहिन्छ भने कोठामा एट्याच बाथरुम नहँुदा हामी आफ्नै घरमा पनि सजिलोसँग बस्न सक्दैनौँ ।”
नाराको जनसङ्ख्या करिब साढे तीन लाख छ । त्यसमध्ये आधाआधी नागरिक ग्रामीण क्षेत्रमा बस्छन् । ग्रामीण क्षेत्रमा अहिले करिब आठ हजार ४०० पुराना घर छन् र तीमध्ये आधाभन्दा बढी घर तीन सय वर्ष पुराना र जापानको प्राचीन परम्परा र संस्कृति झल्किने खालका छन् । तर तिनै घरमा बस्न भने अहिलेका युवाले गाह्रो मानिरहेका छन् । त्यसैले त्यस सहरको मौलिकता जोगाउने पुरानो पुस्ताका प्रयास चुनौतीपूर्ण बन्दै गएको छ ।
यो पुरानो बस्ती बुद्धक्षेत्र भनेर पनि चिनिन्छ । त्यहाँ गौतम बुद्धसँग सम्बन्धित पुराना कलाकौशल उपलब्ध छन् । बौद्ध धर्मका अतिरिक्त जापानको एक पुरानो धर्म सिन्तोमा पनि नारावासी विश्वास गर्छन् । सिन्तो धर्मसँग पनि जापानको पुरानो परम्परा जोडिएकाले त्यसका मन्दिर पनि यस क्षेत्रको संरक्षण अभियानअन्तर्गत पर्छन् । सो धर्मलाई जापानमा धर्म मात्र भन्दा पनि सिन्तोवादका रुपमा विकास गरिएको पनि पाइन्छ ।
त्यहाँका नागरिकले आफूखुसी घर बनाउन पाउँदैनन् । नगरपालिकाले निजी घर निर्माणका लागि पनि मौलिकता नहराउने गरी घर निर्माण गर्नुपर्ने भनी मापदण्ड तोकिदिएको छ । त्यसका लागि आवश्यक पर्ने निर्माण सामग्रीका लागि सरकारले सहुलियत दिने गर्छ । भत्काइएका पुराना घरमा त्यस्तै नयाँ घर बनाउनुपर्ने नियम स्थानीय सरकारले बनाएको छ ।
स्थानीय सरकारको यो नियमप्रति नाराका एक पुराना बासिन्दा यारोइसी यामानाकालाई कुनै अप्ठेरो छैन । उनी आफ्नो सहरलाई पुरातात्विक महत्वको सहरका रुपमा जोगाइराख्नुपर्ने धारणा राख्छन् । पचहत्तर वर्षीय ती वृद्धले भने – “म जन्मे हुर्केको यो सहरको अध्ययन भ्रमण गर्न विश्वका विभिन्न देशका नागरिक आउनु हाम्रो लागि गर्वको कुरा हो । त्यसैले हामी सबै मिलेर हाम्रो यस सहरको महत्वको संरक्षण गर्नुपर्छ ।” आफ्नो जन्म यति पुरानो र विश्व सम्पदामा परेको यो सहरमा भएकामा उनलाई ठूलो गर्व छ ।
यस्ता महत्वपूर्ण ग्रामीण क्षेत्र बिस्तारै आधुनिक सहरका रुपमा परिणत हुँदै गएकाले नारा र यस्तै अन्य देशका नगरोन्मुख सहरको मौलिकता बचाउन नारावासीको संस्थागत पहलमा एसियास्तरीय सञ्जाल निर्माण गरिएको छ । सो सञ्जालमा एसियाका मलेसिया, इन्डोनेसिया, म्यानमा, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, ताइवान र चीनले एसिया सम्पदा सञ्जालको निर्माण गरी सामूहिक कार्य अगाडि बढाएका छन् ।
ऐतिहासिक सहरी क्षेत्रका मौलिकता जोगाउने, अत्यधिक सहरीकरण हुन नदिने र पुरानो संरचनालाई भत्काई त्यस देशको परम्परा र मैलिकतामा आधारित नै नरही पूर्णरुपमा नयाँ निर्माणको काम रोक्ने अभियान सो सञ्जालको रहेको छ । सोही प्रयोजनका लागि उनीहरुले सन् २०१६ मा अन्तर्राष्ट्रिय सम्मेलनको पनि आयोजना गरेका छन् । उनीहरुले सो सम्मेलनको नाम ‘इन्टरनेसनल सिम्पोजियम फर एसिया हेरिटेज नेटवर्क’ दिएका छन् ।
यो अभियानको अगुवाइ नारावासीले गरिरहेका छन् । सो संस्थाले समय समयमा एसियाका ती सहरका प्रतिनिधिलाई बोलाएर नारामा गरिएका पहलबारे जानकारी गराउँछन् । नाराको उक्त ऐतिहासिक महत्वको संरक्षणको कामका अनुभवलाई उनीहरु विश्वव्यापी रुपमै आदानप्रदान गरिरहेका छन् ।
तर आफ्नो उमेरका स्थानीयवासीले भनेर अहिलेका युवाले नमान्ने स्वाभाविकै भएकाले उनीहरुका चाहनालाई पनि सम्बोधन गरेर अगाडि बढ्नुपर्ने सुझाव यहाँका पुराना नागरिकको रहेको छ । अहिलेको युवा जनशक्तिलाई पनि समेटेर नगरको ऐतिहासिकतालाई संरक्षण गरेर जानुपर्ने उनीहरुको धारणा छ ।
जापानको पुरानो संस्कार, कला र संस्कृति बुझ्न यहाँ बर्सेनि लाखौँ विदेशी एवम् स्वदेशी पर्यटक आउने गर्छन् । यहाँको संकृतिको अध्ययनका लागि यो सहर आकर्षणको केन्द्र बनेको छ । जापानका मात्र नभई कतिपय एसियाली देशका संस्कृतिप्रेमी र विद्यार्थीका लागि सहर अध्ययनको केन्द्र बनेको छ, ऐतिहासिक सहरी क्षेत्र संरक्षणका लागि विश्वकै एक नमुनाका रुपमा पनि रहेको छ । यस कारण पनि स्थानीय नागरिक सो सहरको गरिमा बचाइराख्न लागिपरेका हुन् । रासस (एकराज पाठक)