भद्रपुर, १३ पुस । बढ्दो सहरीकरणले सहर बजारमा उत्पन्न हुने फोहरलाई व्यवस्थित गर्नसके यसबाट लाखौं आम्दानी गर्न सकिन्छ ।
पहिले सीमित रूपमा रहेका नगरपालिका अहिले झापामा सानाठूला गरी सातवटा भएको छ । नगरपालिकाले सहर बजारमा फोहर उत्पन्न हुने स्थान होटल, बसपार्क, कृषि बजार एवम् निजी घरका फोहर सङ्कलन गरेर कम्पोस्ट मल तयार गर्नेतर्फ ध्यान जानु जरुरी भएको छ ।फोहरमैलाका कारण सहर दुर्गन्धित हुने र रोग तथा महामारी फैलिन सक्ने भएकाले यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
झापाको विर्तामोड नगरपालिकाभित्र रहेको कृषि उपज थोक बजारमा उत्पादन हुने फोहरलाई व्यवस्थित गर्न बजारले झापा फलफूल व्यवसायी सङ्घसँग सम्झौता गरे पनि बजारमा कुखुरा बध गर्ने व्यवसायीबाट उत्पन्न हुने फोहरको दुर्गन्ध एवम् प्लास्टिकका कारण लगभग १० दिनदेखि बजारको फोहर उठ्न सकेको छैन ।
फलफूल व्यवसायीलाई बजारले मासिक रु २२ हजार तिर्ने गरी भएको सम्झौतालाई कुखुरा बध गर्ने व्यवसायीका कारण काममा बाधा उत्पन्न भएको कृषि उपज थोक बजारका सदस्य सचिव शिवशङ्कर कसियतले जानकारी दिनुभयो ।
हिउँदको समयमा तीन दिनमा एक ट्र्याक्टर र वर्षात्को समयमा एक दिनमै एक ट्र्याक्टर उत्पादन हुने फोहरलाई व्यवस्थित गर्न यो प्रयास गरेको बताइएको छ ।कुहिने फोहर एक स्थानमा र नकुहिने फोहर अर्काे स्थानमा जम्मा गरी दिए काम गर्न सजिलो हुने झापा फलफूल व्यवसायी सङ्घको भनाइ छ ।
सङ्कलित फोहरबाट कम्पोस्ट मल बनाउने र यसबाट कृषक तथा कृषि उत्पादन पनि बढाउन सकिने भएकाले यसतर्फ व्यवसायीको ध्यान जानुपर्ने र काममा सहयोग गर्नुपर्ने फलफूल व्यवसायी सङ्घको भनाइ छ ।चार बिगाहा क्षेत्रमा रहेको कृषि उपज थोक बजार विर्तामोडमा सानाठूला गरी ३४५ वटा दैनिक उपभोग्य सामानका पसल छन् ।
बजारलाई व्यवस्थित गर्न व्यावसायिक कृषि प्रवद्र्धन विकास केन्द्र (सिएडिपी) ले रु एक करोडको लागतमा २४ वटा सटर, सरकारले २२ वटा सटर तथा कृषि व्यवसायी प्रवद्र्धन तथा बजार विकास निर्देशनालायले रु ४८ लाखको लागतमा ढल र ग्राभेलको व्यवस्था गरिदिएको छ ।
बजारमा रु पाँच हजारसम्ममा भाडा लाग्ने सटरको कृषि थोक बजारमा व्यवसायीले एक वर्ग फिटको रु १.७५ पैसा तिरिरहेकाले कृषि थोक बजारमा व्यापारीको मनोमानी बढेको पाइएको छ ।भाडा बढाउन नदिने व्यापारीका कारण बजारमा फोहर पनि बढ्न गएकाले प्रहरी प्रशासनले समयमै ध्यान दिनुपर्ने अन्यथा त्यहाँ कुनै दिन रोगको महामारी फैलिने खतरा देखिएको छ ।
उपभोक्ता मीना सुब्बाले तरकारी एवम् फलफूल खरिद गर्न बजार छिर्दा फोहरले दुर्गन्धित भएर तरकारी पनि किन्न मन नलाग्ने प्रतिक्रिया दिनुभयो ।विर्तामोड नगरपालिका र यातायात व्यवसायीले मासिक रु ५० हजारभन्दा कममा फोहरमैला नउठाउने भनेपछि व्यवसायीले झापा फलफूल व्यवसायी सङ्घलाई गुहारेको हो ।
कृषि उपज थोक बजारका अध्यक्ष एवम् कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमल्सिनाले चारैतिरबाट तरकारी एवम् फलफूल आउने बजारलाई सफासुग्घर राख्नु उपभोक्ता र व्यापारीकै निम्ति राम्रो भएको बताउनुभयो । कुहिने र नकुहिने फोहरलाई छुट्याएर राख्न र कुखुरा मासु व्यवसायीले उत्पादन गर्ने फोहरलाई व्यवस्थित गर्न सबैको सहयोग आवश्यक पर्ने पनि उहाँले आँैल्याउनुभयो ।
झापाको दमक नगरपालिकाले पनि नगर क्षेत्रमा उत्पादन हुने फोहरलाई व्यवस्थित गर्न निजी, सरकारी तथा सार्वजनिक अवधारणा बनाएको कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिनुभयो ।उहाँले यो धारणासँगै पशुबजार एवम् बजारमा सडक र सार्वजनिक जग्गालाई अतिक्रमण गरी घर र टहरा बनाएकालाई हटाइसकेको जानकारी दिनुभयो । रासस (मोहम्मद सदरुल)