२६४६ बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा हुदै

२६४६ बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा हुदै
अमेरिका कोलोराडो समाचार

२६४६ औं बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडो स्थित डेनभर डाउनटाउनमा शान्ति पदयात्रा कार्यक्रम हुने भएको छ ।

बौद्ध समाज कोलोराडोको आयोजनामा, बुद्धको जन्मभुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा गौतम बुद्धको शान्तिको सन्देश संसार भर फैलाउन शान्ति पदयात्राका कार्यक्रमको आयोजना गरिन लागिएको हो ।

यहि मे १४ तारिक शनिबार बिहान १०:३० बजे डेनभर डाउनटाउन स्थित सिभिक सेन्टर पार्कमा शान्तिका दुत भगवान गौतम बुद्धको लामागुरुहरुबाट पुजापाठ गरी शान्ति पदयात्रा शुभारम्भ हुनेछ । त्यसपछि ११ बजे धिमेबाजा सहित शान्ति पदयात्रा डेनभर डाउन टाउनको १६ स्ट्रिट महल परिक्रमा गरि पुःन सिभिक सेन्टर पार्कमा आई कोणसभा गरी कार्यक्रम सम्पन्न गरिने बैद्ध समाज कोलोराडोका सचिव सञ्जय शाक्यले बताएका छन् ।

आयोजक संघ संस्थाका पदाधिकारीहरुले आधुनिक संचारका बिभिन्न माध्यमहरुबाट कोलोराडोमा बसोबास गर्ने सम्पूर्ण नेपाली, नेपाली भाषी भुटानी, बिभिन्न राष्ट्रबाट कोलोराडोमा आई बसोबास गरिरहेका बौद्ध धर्मालम्बी, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानिय सबैलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाउन अनुरोध गरिरहेका छन् ।

उनीहरुले सहभागीहरुलाई आफ्ना घरमा भएका नेपालको झण्डा, बुद्धको तस्विर, ब्यानर, प्रतिमा, ध्वजा पतंगा, बुद्धका महाबाणीहरु संगटिएको प्लेकार्ड लिई संभव भएसंग परंपरागत पहिरन लगाएर उपस्थित हुन सबैलाई अनुुरोध गरेका छन् ।