श्रीलंकामा सांसदहरुबीच कुटाकुट

श्रीलंकामा सांसदहरुबीच  कुटाकुट
अन्तर्राष्ट्रिय समाचार

श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकारी सभामुखसँग नभएको बताए लगत्तै सांसदहरुबीच हात धक्कामुक्की भएको हो।

संसदको बैठक बस्ने वित्तिकै सभामुख करु जयसूर्याले देशमा सरकार नभएको र राजपक्ष र राष्ट्रपतिले अपदस्थ गरेको रनिल विक्रमासिंघे दुवै प्रधानमन्त्री नभएको बताएका थिए। राष्ट्रपति सिरिसेनाले अक्टोबर २६ मा विक्रमासिंघले अपदस्थ गरेपछि श्रीलंकामा राजनीतिक संकट उत्पन्न भएको छ।

यो घटना संसदले राजपक्ष सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको एक दिनपछि भएको हो।

संसदमा राजपक्षेले महत्वपूर्ण विषयमा ध्वनीमतका आधारमा फैसला गर्न नहुने भन्दै मतदान हुनुपर्ने माग गरेका थिए। उनले राष्ट्रपतिले नियुक्त गरेको प्रधानमन्त्री र मन्त्रिपरिषदलाई सभामुख जयसूर्यालाई हटाउने अधिकार नभएको दावीसमेत गरे।

राजपक्षले सभामुखले विपक्षी दलको सांसदको भूमिका निर्वाह गरेको आरोप लगाएका छन्। उनले नयाँ चुनाव नै अहिलेको संकटको समाधान भएको बताए। राजपक्ष सांसदहरुले पुनः मतदान हुनुपर्ने माग गरेपछि झपड भएको थियो। राजपक्षका समर्थकहरुले नारा लगाउँदै संसदको मध्यभागमा जम्मा भएका थिए र केही सभामुखतर्फ होहल्ला गर्दै अघि बढेका थिए।

करिब तीन दर्जन सांसदबीच झडप भएको थियो। धक्कामुक्कीको क्रममा केही सांसद भुँइका ढलेका थिए र विपक्षीहरुले लातले हानेका थिए। राजपक्षका समर्थक सांसदहले पानीका बोतल, किताब र फोहोरको बट्टाले सभामुखमाथि प्रहार गरेका थिए।

राजपक्षका विपक्षी रहेका सांसदहरुले सभामुखलाई घेरेर सुरक्षा दिइरहेका थिए। यो क्रमका आधा घण्टासम्म चलेपछि सभामुखले संसद बैठक स्थगित गरेका थिए।

Post Comment