राष्ट्रव्यापी ‘१० मिनेट नाटक’ प्रदर्शनी सुरु

मनोरन्जन

काठमाडौँ, १८ जेठ । कालिकास्थानस्थित सर्वनाम थियटरमा सोमबारदेखि राष्ट्रव्यापी ‘१० मिनेट नाटक’ प्रदर्शनी सुरु भएको छ ।

रङ्गकर्ममा रुची भएर पनि आफ्नो प्रतिभा देखाउने ठाउँ नपाएका कलाकारका लागि सर्वनाम थियटरले सुरु गरेको उक्त नाटक प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

वरिष्ठ कलाकार हरिहर शर्माले उक्त प्रदर्शनीको शुभारम्भ गर्दै यस प्रकारको मञ्चले नयाँ रङ्गकर्मी जन्माउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सर्वनाम थियटरका निर्देशक अशेष मल्लले प्रतिभा देखाउन मञ्च नपाएर रङ्गकर्मबाटै बिदा लिने अवस्थामा पुगेको आफ्नो सङ्घर्षलाई स्मरण गर्दै यो प्रदर्शनीको आयोजना गरेको बताउनुभयो ।

पहिलो दिन भगवतीकुमारी मैनाली उप्रेतीको नाटक ‘फलानो’, सुविना पौडेलको ‘मोक्ष’, रोशन आचार्यको ‘परिचय’, आशिष श्रेष्ठको ‘खै के खै के’, कपोल कल्पित (विकास अधिकारी) को ‘बिडम्वना’ र भुवन सङ्गमको ‘अब बेचिन्न’ नाटकको प्रदर्शनी गरिएको थियो ।

पाँच दिनसम्म हरेक दिन काठमाडौँ उपत्यकासहित मुलुकभरका विभिन्न जिल्लाका कलाकारले ३९ वटा नाटक प्रस्तुत गर्ने कार्यक्रमका संयोजक राज शाहले जानकारी दिनुभयो ।

थियटरको ‘१० मिनेट नाटक’ प्रदर्शनीको यो दोस्रो संस्करण हो । अघिल्लो संस्करणको सफलताकै कारण यो वर्ष ३९ नाटक प्रदर्शनीका लागि आवेदन परेको संयोजक शाहले बताउनुभयो ।

प्रदर्शनी हुने प्रत्येक नाटकलाई १० मिनेटको समय दिइनेछ । एकल वा सामूहिक रुपमा प्रदर्शनी गरिने उक्त नाटक १० मिनेटमा समाप्त गर्नुपर्नेछ ।

पछिल्लो समय युवा वर्गको नाटकप्रतिको बढ्दो रुचीका कारण यस क्षेत्रमा आफ्नो भविष्य बनाउने युवाको सङ्ख्या पनि सोहीअनुरुप बढ्न थालेको छ ।