मिस भुटान युएसए– २०१६ को उपाधि विमला शिवाकोटीले हात पारेकी छिन् । मोडलिङ तथा ग्ल्यामरको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने भुटानी किशोरीहरूको क्षमता विकासका लागि अमेरिकामा प्रारम्भ भएको मिस भुटान युएसए सम्पन्न भएको छ ।
विभिन्न देशबाट अमेरिका पुनर्वास भएका भुटानी किशोरीहरूप्रति लक्षित उक्त प्रतियोगिताका लागि अडिसनबाट १० जना युवती छनौट भएका थिए । सौन्दर्यभन्दा पनि अतिरिक्त क्रियाकलापमा जोड दिई प्रतिस्पर्धीहरूलाई सबल एवं सक्षम बनाउने उद्देश्य राखिएको यो प्रतियोगिताका क्रममा सहभागी किशोरीहरूलाई व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, बोलीचाली, क्याटवाक आदि विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । प्रतियोगिताको कोरियोग्राफी नायिका प्रियंका कार्कीले गरेकी थिइन् ।
मिस भुटानमा सुनिता गुरुङ फस्ट रनर्सअप तथा सीता राई सेकेन्ड रनर्सअप घोषित भए भने मिस भुटान युएसए– २०१६ को उपाधि जित्ने विमलालाई वर्षकी सेलिब्रेटी पनि घोषित गरिएको छ ।