काठमाडौँ, १५ माघ । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ ।
दशरथ रङ्गशालामा आज भएको सो प्रतियोगितामा आर्मीले एपिएफसँग १–१ गोलको बराबरीमा खेल्दै दुवै टोलीले अङ्क बाँडेका छन् ।
दुई खेल खेलेको आर्मीले ४ अङ्क जोडेको छ भने एक खेल खेलेको एपिएफले एक अङ्क जोडेको छ । आर्मीले यसअघि भएको पहिलो खेलमा झापा एघार फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै शीर्ष ३ अङ्क जोडेको थियो ।
प्रतियोगितामा पहिलो अग्रता भने आर्मी क्लवले लियो । आर्मीका दीप लामाले खेलको पहिलो हाफको ३६ औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए । उनले नवयुग श्रेष्ठको पासमा गोल गरेका थिए ।
त्यस्तै, आर्मीको १–० को अग्रता भने लामो समयसम्म टिक्न सकेन । एपिएफका कप्तान नविन लामाले खेलको दोस्रो हाफमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । कप्तान लामाले खेलको ७२ औँ मिनेटमा डिबक्स नजिकबाट प्रहार गरेको बलले सिधै जाली चुमेपछि खेल १–१ गोलको बराबरीमा टुङ्गियो ।
खेलपछि आर्मीका प्रशिक्षक मेघराज केसीले आर्मीले खेल सुरुवाती २० मिनेटसम्म उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै दुवै टोली बलियो भएकाले खेल निकै प्रतिस्पर्धात्मक बनेको टिप्पणी गर्नुभयो ।
त्यस्तै, एपिएफका प्रशिक्षक कृष्ण थापाले खेलको पहिलो हाफमा नै गोल खाएपछि टोली दबाबमा आएको बताउँदै आफ्नो टोली प्रतियोगिताको उत्कृष्ट पाँचभित्र पर्ने विश्वास व्यक्त गर्नुभयो ।
भोलि शुक्रबार दिउँसो २ः०० बजे मनाङ मस्र्याङ्दी क्लबले लुम्बिनी फुटबल क्लबको सामना गर्नेछ । रासस