भक्तपुरमा नयाँ नगरपालिकाबाट काम सुरु

समाचार

भक्तपुर, २४ मङ्सिर । सरकारले घोषणा गरेको नयाँ नगरपालिकाको आज भक्तपुरमा उद्घाटन गरिएको छ ।

ताथली, सुडाल, बागेश्वरी र नगरकोट गाविस मिलाएर बनाइएको महामञ्जुश्री–नगरकोट नगरपालिका कार्यालयको आज अपराह्न सोही नगरपालिकाका कार्यकारी अधिकृत शालिग्राम पौडेलले उद्घाटन गर्नुभयो ।

नगरपालिकाको कार्यालय राख्ने विषयमा स्थानीय बासिन्दाबीच विवाद भएपछि कार्यालय स्थापना हुन नसकेकामा आज चारवटै क्षेत्रका राजनीतिक दलका प्रतिनिधिबीचको छलफलमा भएको सहमतिअनुसार यातु महादेव मन्दिरको पछाडिपट्टि भाडाको घरमा आज नगरपालिका कार्यालय उद्घाटन गरिएको हो ।

अब नगरपालिकाको काम यही कार्यालयबाट सुरु हुने कार्यकारी अधिकृत पौडेलले जानकारी दिनुभयो ।त्यसैगरी कार्यालय राख्ने स्थानको अभावमा जगातीस्थित भक्तपुर इँटा तथा टायल कारखानाको कार्यालयमा नगरपालिकाको तुल टाँगेपछि विवादमा आएको सूर्यविनायक नगरपालिकाको भने अझै कार्यालय राख्नेबारेमा टुङ्गो लाग्न सकेको छैन ।

उद्योगमा नगरपालिका राख्नेबारेमा विवाद भएपछि जिविसमा आज भएको छलफलमा उद्योग सञ्चालकलाई बोलाएर कार्यालय राख्न दिन ठाउँको माग गर्ने, नदिए उद्योगलाई नै कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसँग अनुरोध गर्ने निर्णय भएको सूर्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत रमेश फोजुले बताउनुभयो ।

सरकारलाई वार्षिक रु ६० लाख भाडा तिरेको इँटा उद्योगले आफ्नै कार्यालयमा ठाउँ अभाव भएकाले नगरपालिका कार्यालय राख्न दिन नसकिने बताउँदै आएको छ ।जिल्लाको सिपाडोल, नंखेल र चित्तपोल गाविसलाई मिलाएर बनाइएको सूर्यविनायक नगरपालिकाको कार्यालय राख्ने भवनको टुङ्गो नहुँदा काम गर्न समस्या आएको फोजुले जानकारी दिनुभयो ।

यता बालकोट, सिरुटार, दधिकोट र गुण्डु गाविसको केही क्षेत्र मिलाएर बनाइएको अनन्तलिङ्गेश्वर नगरपालिकाको कार्यालय भने दधिकोट गाविस रहेको भवनबाट सेवा सुरु गरिएको कार्यकारी अधिकृत अर्जुनप्रसाद रिजालले जानकारी दिनुभयो ।

छालिङ, दुवाकोट, झौखेल र चाँगुनारायण गाविस मिलाएर बनाइएको चाँगुनारायण नगरपालिकाले पनि चाँगुनारायण गाविस रहेको भवनबाटै नगरपालिकाको काम सञ्चालन गरेको कार्यकारी अधिकृत कमल भुसालले बताउनुभयो । रासस

Post Comment