काठमाडौँ, २४ मङ्सिर । मिर्गौलाको उपचार लिन आउने बिरामीको सङ्ख्या दिनपर दिन बढिरहेको तथा उनीहरूलाई हुन सक्ने सङ्क्रमणबाट सुरक्षित पनि गर्नुपर्ने भएकाले देशमा उपलब्ध मिर्गौला उपचार सेवाको आर्थिक तथा भौतिक पक्षमा थप विस्तार गर्नुपर्ने जरुरी देखिएको छ ।
मिर्गौलाका बिरामी छिटो सङ्क्रमित हुने र सङ्क्रमित भएमा उनीहरूको ज्यानसमेत जोखिममा पर्ने भएकाले हेरचाह तथा उपचारमा विशेष सावधानी अपनाउन पनि उपचारको क्षमता र गुणस्तर बढाउनुपर्ने देखिएको हो ।पछिल्लो समयमा विभिन्न अस्पतालबाट मिर्गौलाको डायलाइसिसका लागि राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा पुग्ने बिरामीको सङ्ख्या ह्वात्तै बढेकाले मिर्गौला उपचारमा आवश्यक पर्ने पूर्वाधारमा विस्तार जरुरी रहेको थप पुष्टि हुन्छ ।
पछिल्लो तीन महिनामा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरबाट मात्रै हेपाटाइटिस ‘बी’ र ‘सी’द्वारा सङ्क्रमित १७ जना बिरामीले काठमाडौँको वनस्थलीस्थित उपचार केन्द्रमा डायलाइसिस गराउँदै आएका छन् भने अन्य अस्पतालबाट पनि त्यस्ता बिरामी केन्द्रमा आउने क्रम जारी छ ।मानव अङ्ग प्रत्यारोपण केन्द्रले हेपाटाइटिस ‘बी’ र ‘सी’ र एचआइभी सङ्क्रमितसमेत गरी प्रत्येक दिन २४ जना बिरामीको डायलाइसिस गराइरहेकामा पछिल्लो समयमा एक सिफ्ट थप गरेर दिनमा ३२ जनासम्मको डायलाइसिस गराउनुपर्ने अवस्था रहेको जनाएको छ ।
सीमित स्रोत र साधनबाट मिर्गौला रोगजस्ता जटिल बिरामीको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उपचार केन्द्रका सहायक प्रशासन निर्देशक सुमन राउतको भनाइ छ । दिवा सेवा मात्र उपलब्ध गराउँदै आएको यस केन्द्रले सङ्क्रमित बिरामीलाई डायलाइसिसका लागि राति अबेरसम्म पनि सेवा दिनुपर्ने अवस्था छ ।डायलाइसिसमा संलग्न डा स्कन्द रुपाखेतीका अनुसार दुवै मिर्गौलाले काम गर्न छाडेका सङ्क्रमित तथा असङ्क्रमित बिरामीका लागि डायलाइसिस मेसिन तथा वार्ड नै छुट्टै व्यवस्था गर्नुपर्ने हुन्छ, त्यसका लागि केन्द्रको पूर्वाधार क्षमता अपुग छ ।
उपचार केन्द्रमा हाल हेपाटाइटिस ‘बी’ र ‘सी’ र एचआइभी सङ्क्रमित बिरामीका लागि छुट्टा–छुट्टै वार्डमा डायलाइसिस गरिँदै आएको छ । त्यस्ता सङ्क्रमित बिरामीको डायलाइसिस यही उपचार केन्द्रमा मात्र हुने गरेकाले केन्द्रलाई धान्न समस्या देखिएको हो ।मिर्गौला र कलेजोबीच एकअर्कामा अत्यन्त नजिकको सम्बन्ध हुने भएकाले पनि त्यस्ता सङ्क्रमित बिरामीको प्रतिरोधात्मक क्षमता अत्यन्त क्षण हुने भएकाले उनीहरूको जोखिमलाई ध्यान दिएर यस क्षेत्रको विस्तार गर्न राज्यले ध्यान दिनुपर्ने सम्बन्धितहरू बताउँछन् ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले ३०० प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा मिर्गौलाको पूर्व परीक्षण गर्ने व्यवस्था मिलाउने उल्लेख गरेको छ । मिर्गौलाका बिरामीको उपचारमा राज्यले विशेष जोड दिएको छ ।राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा ऋषिकुमार काफ्लेका अनुसार सरकारले एकजना मिर्गौला रोगीका लागि रु १० लाखसम्म खर्च गरेको छ । यो ठूलो रकम हो । यस्तो सुविधा दक्षिण एसियाका अन्य देशमा विरलै मात्र उपलब्ध छ । मिर्गौला उपचारका लागि पर्याप्त पूर्वाधार विकास गर्न राज्य र निजी क्षेत्रबाट आवश्यकताअनुसार ध्यान दिन सकिएको छैन ।
राज्यले मुटु र मिर्गौलाका बिरामीलाई समान तवरले हेरे पनि मुटु रोगको उपचारका लागि खडा गरिएका अस्पतालको तुलनामा मिर्गौला उपचारका लागि त्यस्तो सुविधा कम छ भने पूर्वाधार विकासका लागि बजेट पर्याप्त छैन । विपन्न नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउन राज्यले चालेका कदम सराहनीय भए पनि त्यसको मागअनुसारको आपूर्तिमा विशेष ध्यान दिनुपर्छ । हाल नेपालमा मिर्गौला रोगीको सङ्ख्या बढी देखिन थालेका छन् । हाल नेपालमा नियमित डायलाइसिस गराउनेको सङ्ख्या करिब एक हजार ५०० छन् । त्यसमध्ये एक हजार मिर्गौला प्रत्यारोपण गर्नेछन् ।
पछिल्लो समयमा भक्तपुर केन्द्रबाट बढी सङ्क्रमित बिरामी आउने गरेका छन् । केन्द्रको क्षमता विस्तारका लागि पहल भइरहेको बताउँदै प्रशासन निर्देशक राउतले निकट भविष्यमै हेटौँडा र विराटनगरमा डायलाइसिस सेवा विस्तार गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
मिर्गौलाको उपचारका लागि सरकारले यथासम्भव आर्थिक सहयोग गरेकाले उपचार केन्द्रले गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुहुन्छ, स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखाका प्रमुख डा गुणराज लोहनी । उहाँले राज्यबाट पाएको सुविधाको सदुपयोग गरेर सेवा विस्तार गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । रासस