राजविराज, २४ मङ्सिर । जिल्ला आयुर्वेद स्वास्थ्य उपचार केन्द्र सप्तरीमा स्वास्थ्य उपचार गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०६९÷७० मा चार हजार बिरामीले सो केन्द्रमा उपचार गराएका थिए भने आव २०७०÷७१ मा करिब नौ हजार बिरामीले उपचार गराएको केन्द्रले जनाएको छ ।केन्द्रमा दम, बाथ, पिनास, पत्थरी, महिलाको समस्या, पाइल्स, जन्डिस, चर्मरोगका बिरामीका साथै धातुरोग हाडजोर्नीका बिरामीको उपचार भएको र यसप्रति जनमानसमा विश्वास पनि बढ्दै गएको केन्द्रका प्रमुख डा शिवशङ्कर यादवले बताउनुभयो ।
सो आर्थिक वर्षमा जिल्लाको ५० भन्दा बढी स्थानमा आयुर्वेदिक औषधिसम्बन्धी कार्यक्रमसमेत गरिएको थियो । त्यस्तै दुई वर्ष अगाडिसम्म चारजना सो केन्द्रमा उपचार गराउन दैनिक आउथे भने हाल दैनिक ३०÷४० जना बिरामी उपचार गराउन आउने गरेको केन्द्रका प्रमुख डा यादवकोे भनाइ रहेको छ ।
हाल सप्तरीमा दुई वटा आयुर्वेद औषधालय धर्मपुर र मैनासहवाहु गाविसमा रहेको छ । सरकारले देशभरि ९१ वटा औषधालयको स्तरवृद्धि दिएकोमध्ये सप्तरीको प्रसवनी, बथनाह, हनुमानगर, बरही वीरपुर र कमलपुर गाविसमा स्वीकृति दिएको छ । हाल सप्तरीमा आयुर्वेदिक औषधि पसल पनि खुलेको बताइएको छ । रासस