झापाको धार्मिक तथा कनकाई नदीको पूर्वी तटमा व्यवस्थित आर्यघाट निर्माण

समाचार

झापाको धार्मिक तथा कनकाई नदीको पूर्वी तटमा व्यवस्थित आर्यघाट निर्माणसँगै शव अन्त्येष्टि गर्न सहज बन्दै गएको छ ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेको मध्य झापाको कनकाई आर्यघाट सञ्चालनमा आउन थालेपछि यहाँको शव दाहमा सहज बन्दै गएको हो । शव दाहस्थल बनेको दुई महिनामा २५९ वटा शवको दाहसंस्कार भइसकेको छ ।

कनकाई आर्यघाट संस्थाको गुरुयोजनाअन्तर्गत सातवटा चिताभूमि निर्माण गर्ने उद्देश्य भए पनि हाल दुईवटा मात्र सञ्चालनमा आएको छ । कनकाई नदी पूर्वका बिर्तामोड, भद्रपुर, शनिअर्जुन, सुरुङ्गा, दमक र पूर्वी मोरङका विभिन्न क्षेत्रबाट आर्यघाटमा शव ल्याउने गरेका छन् । आर्यघाट निर्माण समितिका अध्यक्ष प्रभाकर कडरियाका अनुसार गुरुयोजनामा नदीको दुवै किनारमा पक्की तटबन्ध, विश्रामालय निर्माण, सुविधा सम्पन्न शौचालय, चोकबाट आर्यघाटसम्म मलामिजन हिँड्ने बाटोको कालोपत्रे, वाटिका निर्माणलगायतका कार्यलाई समावेश गरिएको छ ।

गुरुयोजनामा समावेश गरिएका विभिन्न योजनामध्ये सहारा नेपालको आर्थिक सहयोगमा शुद्ध खानेपानीको व्यवस्थापन भइसकेको छ । यसअघि सञ्चालित समर्पण कार्यक्रमबाट कोराबार गृह निर्माणका लागि करिब रु चार करोडभन्दा बढी लागतको भवन निर्माणको शिलान्यास गरी निर्माण कार्य थालिएको छ । समर्पण कार्यक्रममा झापाका विभिन्न ६८ वटा सङ्घसंस्थाको संलग्नता रहेको जनाइएको छ । रासस

Post Comment