प्युठान, २५ मङ्सिर । प्युठानको एक विद्यालयमा रु एक लाख ४१ हजार १११ को विद्यालय अक्षय कोष स्थापना भएको छ ।
रम्दी–१ तिग्राको वागिश्वरी निम्न माध्यमिक विद्यालयमा उत्कृष्ट विद्यार्थी, जेहेन्दार र शिक्षाको पहुँचमा आउन नसकेकालाई शिक्षाको पहुँचमा ल्याउन भन्दै अक्षयकोषको स्थापना गरिएको हो ।सोही विद्यालयमा प्राथमिक तहको अध्ययन गरेका स्थानीय तीनजनाको जोडीले अक्षयकोषको स्थापना गरिएको विद्यालयले जानकारी दिएको छ ।
रम्दी घर भएका तथा हाल काठमाडौँ महानगरपालिका वडा नं ३२ मा बस्दै आउनुभएका डिल्लीराज आचार्य र कमला आचार्यले आफ्ना हजुरबुबा मेघनाथ आचार्य, बुबा नागेश्वर आचार्य र आमा क्वारीदेवी आचार्यको नाममा रु एक लाख ११ हजार १११ राशिको विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ ।
त्यस्तै विद्यालयमा उहाँले पुस्तकालय र भौतिक पूर्वाधारका लागि भन्दै थप रु २० हजार आर्थिक सहयोगसमेत गर्नुभएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष टोपाराम आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी सोही विद्यालयमा स्थानीय टोपाराम आचार्य र जमुना आचार्यले आमाबुबा रेशमराज र पितम्बरा आचार्यको स्मितिमा रु २० हजार राशिको रोशन पितम्बरा स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ ।उहाँहरूले २०६८ सालबाट कक्षा ८ मा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गर्दै आउनुभएको थियो ।
सोही विद्यालयमै भुवनेश्वरी उच्च मावि खैराका प्राचार्य शङ्कर आचार्यले बुबा नेत्रविनोद आचार्य र आमा देवादेवी आचार्यको स्मृतिमा रु १० हजार राशिको नेत्रदेवा स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ ।सोही विद्यालयमा प्रावि तहको अध्ययन गर्नुभएका यी तीनजनाको जोडीले विद्यालयमा कुल रु एक लाख ४१ हजार १११ को अक्षयकोष र रु २० हजारको भौतिक पूर्वाधारमा विद्यालयलाई सहयोग गरेको व्यवस्थापन समिति अध्यक्ष आचार्यले बताउनुभयो । रासस