मेची–महाकाली साइकल यात्रा सम्पन्न

समाचार

परासी, २६ मङ्सिर । समयमै संविधान जारी गर्न दलहरूलाई दबाब दिने उद्देश्यले नवलपरासीका दुई युवाले सुरु गरेको मेची–महाकाली साइकल यात्रा पूरा भएको छ ।

मङ्सिर १२ गतेबाट नवलपरासीको रामनगर निवासी तीर्थराज पँगेनी र कमल न्यौपानेले संयुक्त रूपमा मेची महाकाली साइकल यात्रा सुरु गर्नुभएको हो ।मेचीबाट सुरु गरिएको यात्रा महाकाली नेपाल भारतको सिमाना किल्ला नं. ७ मा गई पूरा भएको साइकल यात्री न्यौपानेले बताउनुभयो ।

‘नेपालमा दीर्घकालीन शान्तिको कामना निर्धारित समयमै संविधान हाम्रो चाहना’ भन्ने नाराका साथ यात्रा सुरु गरिएको र १४ दिनको अवधिमा २३ जिल्लामा गरी एक हजार ६५ किलोमिटरको दूरी यात्रा गरिएको जानकारी अर्का साइकल यात्री पँगेनीले दिनुभयो । रासस

Post Comment