काठमाडौँ, २६ मङ्सिर । बिन्दवासिनी म्युजिक प्रालिले गीतकार दिनेश अधिकारीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको छ ।
प्रालिद्वारा आज यहाँ आयोजित पाँचौँ बिन्दवासिनी म्युजिक अवार्ड–२०७१ मा गीत सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अधिकारीलाई सो अवार्ड प्रदान गरिएको हो ।विसं २०१७ मा जन्मनुभएका अधिकारीले ५०० भन्दा बढी गीतको रचना गरिसक्नुभएको छ । उहाँका गीत तथा कविताका १५ एल्बम बजारमा आइसकेको छ । अधिकारीले २०४० सालमा मदन पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको छ ।
‘रत्नश्री’, ‘युगकवि सिद्धिचरण’, ‘युवाकवि मोतिराम’लगायत सम्मानसमेत उहाँले थापिसक्नुभएको छ । नेपाल सरकारका सचिवको रूपमासमेत उहाँले आफ्नो जिम्मेवारी पूरा गरिसक्नुभएको छ ।कार्यक्रममा गायिका अन्जु पन्तलाई ‘सङ्गीत रत्न अवार्ड’ द्वारा सम्मान गरियो । सुमधुर स्वरकी धनी पन्तले पाँच हजारभन्दा बढी गीतमा आफ्नो स्वर भरिसक्नुभएको छ ।
एकसय पचास नेपाली चलचित्रमा समेत उहाँको स्वर रहेको छ । ‘छिन्नलता’, ‘नारायणगोपाल’जस्ता राष्ट्रिय तथा अन्य सम्मानबाट समेत उहाँ सम्मानित भइसक्नुभएको छ । उहाँलाई रु १५ हजार ५१५ सहित सो सम्मान गरिएको हो ।
कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट लोकदोहोरी भाका, लोकदोहोरी गायक, गायिका, सर्वोत्कृष्ट पाश्र्वगायन गायक, गायिका, नवप्रतिभा, सर्वोत्कृष्ट ध्वनी मुद्रणजस्ता करिब दुई दर्जन विधाका सर्वोत्कृष्ट कलाकारलाई पुरस्कृत गरिएको थियो ।प्रालिका अध्यक्ष लीला शर्मा रेग्मीले स्रष्टाको बौद्धिक सम्पत्तिको संरक्षण र रोयल्टीको अधिकारका लागि प्रालि सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । रासस