काठमाडौँ, २६ मङ्सिर । नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले प्रदान गर्दै आएको ‘स्थापित बालसाहित्य पुरस्कार’ यसपटक राष्ट्रकवि माधवप्रसाद घिमिरे(काठमाडौँ) लाई प्रदान गरिएको छ ।
गुठीद्वारा यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मानसहित रु एक लाख पुरस्कार प्रदान गरिएको हो ।त्यसैगरी रु २५ हजार राशिको लुम्बिनी अञ्चलस्तरीय ‘स्थापित लोकगायन पुरस्कार’ लोकगायक दुर्गा रायमाझी (पाल्पा) लाई प्रदान गरिएको छ ।
जनही रु १५ हजार राशिसहितको ‘राष्ट्रिय नवप्रतिभा गायन पुरस्कार’ र ‘नूर–गङ्गा पाल्पा जिल्लास्तरीय शैक्षिक पुरस्कार’ लोकगायिका देवी घर्ती (तनहुँ) र साहित्यकार अनुपम जोशी(रूपन्देशी) लाई प्रदान गरिएको छ ।छात्रवृत्तिस्वरूप स्थापना गरिएको रु सात हजार राशिको नूर –गङ्गा पाल्पा जिल्लास्तरीय शैक्षिक पुरस्कार जनता उच्च माध्यामिक विद्यालय, तानसेन पाल्पाका छात्रा सिर्जना बस्याल र शारदा नमुना उच्च माध्यामिक विद्यालय, मदनपोखरा पाल्पाका छात्रा सागर पाण्डेलाई प्रदान गरिएको छ ।
स्थापित बालसाहित्य पुरस्कार एक वर्ष बालसाहित्य र अर्को वर्ष लोकगायनतर्फ प्रदान गरिँदै आएको छ ।सोही अवसरमा राष्ट्रकवि घिमिरेले बालसाहित्यले बालबालिकामा भएको प्रतिभालाई प्रस्तुत गरेर भविष्यमा समाज र राष्ट्रलाई अगाडि बढाउँछ भन्नुभयो ।गुठीका कार्यवाहक समिति सदस्य यादव भट्टराईले प्रसिद्ध लोकगायिका गङ्गा राणा र उहाँका पति नूरप्रसाद जबराले २०४९ सालमा लुम्बिनी अञ्चलस्तरीय साहित्य, संस्कृति र लोक गीतसङ्गीतमा योगदान गर्नेलाई पुरस्कृत तथा सम्मानित गर्ने उद्देश्यले गुठीको स्थापना गरिएको जानकारी दिनुभयो । रासस