नाट्येश्वरको विशेष पूजा

समाचार

काठमाडौँ, २८ मङ्सिर । नाट्येश्वर पूजा समारोह समितिले काठमाडौँका विभिन्न ४८ नाट्येश्वरको आज विशेष पूजा भएको छ ।

काठमाडौँको स्थानीय कोहीटीबाट पूजा सुरु गरी भित्री सहरका भीमसेनस्थान, मरु, गल्कोपाखा, ठमेल, असन, इन्द्रचोक, हनुमानढोका दरबार क्षेत्र, नयाँ सडक, वटु, सङ्कटा, ओमबहाललगायत स्थानका सम्बन्धित देवताको सामूहिक दर्शन तथा पूजा गरी पुनः कोहीटीमा आएर समापन गरिएको हो ।

महादेवको नाट्यरूपलाई नाट्येश्वर भगवानकारूपमा लिइन्छ । ललितकला तथा सङ्गीत क्षेत्रको पूज्य देवताका रूपमा पनि लिइन्छ । विशेष बाजागाजासहित भक्तजनले ती देवताको विधिअनुसार पूजा गर्दै हिँडेका थिए ।

यस किसिमको पूजा पछिल्लोपटक २०६३ सालमा भएको थियो । समितिका अध्यक्ष सुजन मुनिकारले विभिन्न ग्रह तथा नक्षत्रको संयोग मिलाएर सो पूजा गरिने गरेको जानकारी दिनुभयो ।पूजाका क्रममा कोहीटीमा १२ पाथीको समयबजी बनाएर नाट्येश्वरलाई चढाएपछि भक्तजनलाई प्रसादका रूपमा वितरण गरिएको थियो । रासस

Post Comment