मुगु, १ पुस । लामो समयदेखि कछुवाको गतिमा रहेको इन्टरनेट सेवा प्रयोग गर्दै आएका यहाँका सेवाग्राही आजदेखि तीव्र गतिमा इन्टरनेट चल्न थालेपछि खुसी भएका छन् ।
नेपाल टेलिकमले रुगा गाविसअन्तर्गत थार्प लेकमा माइक्रोवेब रेडियो लिंक (सूचना राजमार्ग) स्थापना गरेपछि जिल्लामा सञ्चालित जिएस एम, सिडिएमए मोबाइल सेवा, लेन लाइन र एडिएसएल इन्टरनेट सेवा तीव्र गतिमा चलेको हो ।
टेलिकमअन्तर्गत वायरलेस टेलिफोन निर्देशनालयका इन्जिनियर सुजन श्रेष्ठका अनुसार मुगुमा यसअघि दुई एविपिएस गतिको इन्टरनेट सेवा थियो तर थार्पमा रहेको रेडियो लिंकसँग स्याटेलाइटमार्फत चल्दै आएको पुरानो प्रविधि जोडिएपछि सञ्चालनमा रहेका सञ्चारसेवा तीव्र गतिमा चलेका छन् । अहिले मुगुमा इन्टरनेट गति ३४० एमबिपिएस रहेको छ । रासस