ललितपुर, १ पुस । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको जात्राका लागि तयारीस्वरूप आजदेखि रथको पाङ्ग्रा बनाउने काम सुरु भएको छ ।
गुठी संस्थान ललितपुरका अनुसार विगतका वर्षमा जात्राका लागि पुरानै सामग्रीले काम चलाइन्थ्यो भने यस पटक १२ वर्षमा विशेष कार्यक्रम गरिने भएकाले निर्माणका लागि सबै नयाँ सामान जुटाउनुपर्ने भएकाले अहिलेदेखि तयारी गरिएको हो । जात्राको तयारीस्वरूप पहिलो चरणको काम सुरु भएको छ । तयारीकै लागि रथको पाङ्ग्रा बनाउनका लागि मकवानपुर मनहरिमा नेवार समुदायका बाराही र बौसी जातका मानिसले काम गर्ने संस्थानका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो । रथको पाङ्ग्रा निर्माणका लागि १५ देखि २० दिनको समय अवधि लाग्ने छ ।
उहाँका अनुसार चार पाङ्ग्रा सानदान रुखबाट बनाइन्छ । रथको पाङ्ग्रा बनाउन प्रत्येक रुख काट्नका लागि एक रुख बराबर एक भाले भेडाबाख्रा भोगसमेत दिइसकेको छ । अधिकारीका अनुसार बुधबार पाङ्ग्रामाथि राखिने अन्य सामग्रीको निर्माणका लागि गोदावरीको फुल्चोकी डाँडामा जाने तयारी छ ।
बाह्र वर्षमा लाग्ने मेला भएकाले यस वर्षका लागि रथ सबै नयाँ सामग्रीबाट निर्माण गरिनुपर्ने र ललितपुरको बुङ्मतीमा नै रथ निर्माण गरिने छ । सोही स्थानबाट नै रथ तान्ने प्रचलन रहिआएको प्रमुख अधिकारीले बताउनुभयो । अन्य समयमा पुल्चोकमा रथ निर्माण गरिने र त्यहीँबाट नै रथ तानिने चलन थियो ।
आगामी वर्षका लागि वैशाखको पहिलो सातादेखि जात्रा सुरु हुनेछ । यस वर्ष रातो मच्छिन्द्रनाथको जात्रा गत वैशाख १७ गते रथारोहण गरी सुरु भएको थियो । रासस