रेस्टुराँको उद्घाटन अनाथ बालबालिकाबाट

समाचार

काठमाडौँ, ४ पुस । उस्तै समस्या भएकाले मात्रै एकअर्काको समस्यालाई राम्ररी बुझ्न सक्छन् ।अनाथ बालबालिकाको अवस्था र होचापुड्काको समस्या लगभग उस्तै नै हो, दुबै असहाय । यही साझा समस्यालाई बुझ्दै होचापुड्का उत्थान समाजले आफूले खोलेको क्याफेको उद्घाटन अनाथ बालबालिकाको हातबाट गराई उनीहरूलाई भोजनसमेत गराएको छ ।

बुढानीलकण्ठमा होचापुड्का क्याफे एण्ड रेस्टुराँको उद्घाटन नेपाल आत्महत्या रोकथाम एवम् मानसिक स्वास्थ्य अनुसन्धान केन्द्रद्वारा सञ्चालित बालगृहमा रहेका ११ बालबालिकाले सामूहिक रुपमा गरेका हुन् ।नेपाल सरकारको युवा स्वरोजगार कार्यक्रम र भन्ज्याङ चौतारी बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा उक्त रेस्टुराँ खोलिएको हो । यसमा करिब रु छ लाख लगानी रहेको समाजका संरक्षक सकुल शाहले बताउनुभयो ।

होचापुड्कालाई हेप्ने, अपहेलना गर्ने व्यवहारबाट आजित भएर आफूहरूले पनि केही गर्न सक्छौँ भनेर देखाउन यो रेस्टुराँ खोलेको उहाँले बताउनुभयो । रेस्टुराँमा नुवाकोट, धादिङ, पोखरालगायत स्थानका २३ होचापुड्का व्यक्ति संलग्न छन् ।उनीहरूलाई सरकारले ‘ग’ वर्गको अपाङ्गताभित्र राखेको छ ।अनुसन्धान केन्द्रका अध्यक्ष प्रेम परियारले अनाथ बालबालिकालाई मौका दिएर रेस्टुराँको उद्घाटन गराइनु सराहनीय भएको बताउनुभयो ।

Post Comment