बुबाले गाडीबाट हाम फालेर आत्महत्या गरेपछि छ वर्षीया मञ्जुको लालनपालनको जिम्मेवारी उनकी हजुरआमाको काँधमा आइलाग्यो ।उमेरले ७० वर्ष कटिसकेकी हजुरआमाले आफूलाई त पाल्न नसक्ने अवस्थामा आइलागेको यो जिम्मेवारी निभाउन सकिनन् । जस्को फलस्वरुप मञ्जु र उनको भाइ अलपत्रजस्तै परे ।
डडेल्धुराका यो गरिब परिवारका मुली मान्छेले यसरी आत्महत्या गरेपछि मञ्जुकी आमा अर्कैसँग विवाह गरेर गएकी थिइन् । यस्तो अवस्थामा मञ्जुका भाइलाई आफन्तले पालिदिने भए ।उनीहरूको यो अवस्थालाई एक स्थानीय पत्रकारले समाचार बनाएर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिदिए ।हाल उनी काठमाडौँमा रहेको नेपाल आत्महत्या रोकथाम एवम् मानसिक स्वास्थ्य अनुसन्धान केन्द्रद्वारा सञ्चालित बालगृहमा रहेकी छिन् । पत्रिकामा उनीहरूको समाचार आएपछि काठमाडौँबाट गएर सम्पूर्ण प्रक्रिया पूरा गरी यहाँ ल्याएको बालगृहका अध्यक्ष प्रेम परियारले बताउनुभयो ।
मञ्जु मात्र हैन सुदीप र अमृतसमेत उस्तै अवस्थाबाट गुज्रिएर सो बालगृहमा आइपुगेका थिए । चितवनका सुदीप र अमृतका बुबाले समेत गरिबीकै कारण आत्महत्या गर्न पुगेका थिए । दसैँको बेला पेटभरि एक छाँक मासु खान नसकेको भन्दै उनले आत्महत्या गरेका थिए ।अहिले पनि त्यो क्षण सम्झँदै अमृत भन्छन्– “बुबा र आमाको झगडा परेको थियो, मासुका लागि । बुबाले आमालाई समेत पिट्नुभयो । राति यत्तिकै भयो हामी भात खाएर सुत्यौँ, तर बिहान उठ्दा बुबा झुण्डिरहनुभएको थियो ।”
बुबाले आत्महत्या गरेपछि आमाले ढुङ्गाको सिलौटो बनाउने काम गरेर उनीहरूको स्याहारसुसार गरेपछि उनीहरूले पढ्न र राम्ररी खानसमेत पाइरहेको अवस्था थिएन । उनीहरूको कथा एउटा साप्ताहिकमा छापिएपछि नै उनीहरूलाई काठमाडौँमा ल्याइएको थियो ।
सो बालगृहमा रहेकी छ वर्षीया एक बालिकालाई त आफ्ना बुबाले विदेशमा आत्महत्या गरिसकेको कुरासमेत थाहा दिइएको छैन । उनीलाई अझै पनि कसैले बुबाका बारेमा सोधेमा उनी ‘मेरो बुबा त विदेशमा हुनुहुन्छ” भन्ने गरेकी छिन् । थाहा छैन अझै कति वर्ष उनी यही भ्रममा बाँच्ने हुन् ।
आत्महत्या वा अन्य कारणले अभिभावक गुमाउनु परेका ११ बालबालिका अहिले बुढानीलकण्ठमा रहेको सो बालगृहमा आश्रय लिइरहेका छन् । बालगृहमा कालिकोट, बागलुङ, नुवाकोट, धादिङलगायत जिल्लाका बालबालिका रहेका छन् ।
दिनहुँजसो पत्रपत्रिकामा आउने आत्महत्याका समाचारले यस्ता बालबालिकाका लागि केही गर्ने प्रेरणा मिलेको बालगृहका अध्यक्ष परियार बताउनुहुन्छ । अभिभावकले आत्महत्या गरेपछि बालबालिकाको गाँस, बास, कपासको समस्या त छँदै छ उनीहरूको शिक्षादीक्षालाई सम्झँदा पनि नराम्रो लाग्थ्यो । अन्तिम अवस्थामा उनीहरू सडकमा जान नपरोस् भन्ने सोचेर योे बालगृह खोलेका हाँै, उहाँले भन्नुभयो– “यो परिवारका सदस्य मिलेर सुरु गरेको संस्था हो ।”
अभिभावकले आत्महत्या गरेको आफ्नै आँखाले देखेका बालबालिकालाई परामर्शसमेत दिइने गरेको छ । अध्यक्ष परियार स्वयम् पनि मनोवैज्ञानिक परामर्शदाता हुन् ।
संस्थाले नेपालभरिका यस्तो अवस्थामा रहेका बालबालिकालाई बालगृहमा ल्याउने र उनीहरूको अवस्थामा सुधार ल्याउने लक्ष्य राखेको उहाँले उल्लेख गर्नु भयो ।
विश्वमा करिब १० लाख मानिसले बर्सेनि आत्महत्या गर्ने गरेका छन् । नेपालमा भने करिब तीन हजार ५०० ले बर्सेनि आत्महत्या गर्ने गरेको यो क्रम बढ्दै गएको संस्थाले जनायो । आत्महत्याको विभिन्न कारणमध्ये गरिबी पनि एक हुने गरेको छ । रासस