रातो मच्छिन्द्रनाथ जात्राका लागि बाटो बन्दै

समाचार

यस वर्षको बाह्रवर्षे रातो मछिन्द्रनाथको जात्रामा मूर्ति रहेको स्थान ललितपुरको बुङ्मतीमा नै रथ निर्माण गरिने भएको छ ।

त्यस्तै बुङ््मतीमा रहेको नख्खु खोलाबाट रथ तानिनुपर्ने भएकाले बुङ्मतीको पुलदेखि नख्खु खोलासम्मको बाटो पनि निर्माण गरिने भएको छ । रथ बुङ्मतीमा रहेकाले सुरुको दिन नख्खु खोलाको पानीमा रथको पाङ्ग्रा केही भाग छोएर रथ तान्न सुरु गर्नुपर्ने भएकाले नख्खु खोलादेखि बुङ्मती पुलसम्मको बाटो निर्माण गर्न लागिएको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले बताउनुभयो ।

गुठी संस्थान ललितपुरका अनुसार विगतका वर्षमा जात्राका लागि पुरानै सामग्रीले काम चलाइन्थ्यो भने यस पटक सबै नयाँ सामान जुटाउनुपर्ने हुँदा तयारीको काम सुरु भइसकेको छ । रथको पाङ्ग्रा बनाउनका लागि मकवानपुर मनहरिमा नेवार समुदायका बाराही र बौसी जातका मानिसले काम गरिरहेका छन् । पाङ्ग्रा निर्माणका लागि १५ देखि २० दिनको समय अवधि लाग्ने छ ।

यसैबीच गत शुक्रबार राति हराएको मछिन्द्रनाथसँगै रहेको नृत्येश्वर महादेवको मूर्तिको खोजी तीव्र रुपमा भइरहेको संस्थानले जनाएको छ । उक्त मूर्ति केही वर्ष अगाडि पनि हराएर प्रहरी र स्थानीवासीकोे सहयोगमा फेला पारिएको थियो ।रासस

Post Comment