चितवनमा पहिलो पल्ट मुटुको सफल शल्यक्रिया

समाचार

कलेज अफ मेडिकल साइन्सेस भरतपुर चितवनले राजधानी बाहिर पहिलोपटक मुटुको सफल शल्यक्रिया (ओपन हार्ट सर्जरी) गरेको छ ।

राजधानी बाहिर नै पहिलो पटक यहाँको मेडिकल कलेजले मुटुको सफल शल्यक्रिया गरेको कलेजका निर्देशक डाक्टर भि.नटराजप्रसादले दाबी गर्नुभयो ।बारा कलैयाका ३५ वर्षीय सत्यनारायण रामको मुटुमा परेको प्वालको ओपन हार्ट सर्जरी गरेको डा नटराजले जानकारी दिनुभयो ।केही दिनअघि शल्यक्रिया गरिएका उहाँको स्वास्थ्य सामान्य बनेपछि आज डिस्चार्ज गर्ने तयारी समेत गरिएको अस्पतालले जनाएको छ ।

करिब रु तीन लाख खर्च लाग्ने भए पनि उहाँको शल्यक्रिया कलेजले निःशुल्क गरेको छ ।विभिन्न अस्पतालमा गएर करिब रु दुई लाख सकेको र पैसा नभएर उपचार गर्न नसकेका बेला कलेजले निःशुल्क शल्यक्रिया गरेर आफूले नयाँ जीवन पाएको भन्दै सत्यनारायणले खुसी व्यक्त गर्नुभयो ।उहाँको जन्मैदेखि मुटुमा तीन सेन्टिमिटरको प्वाल रहेको उपचारमा संलग्न चिकित्सक डा कौसल तिवारीले जानकारी दिनुभयो ।

कलेजका प्राध्यापक डि जयपाल रेड्डीको नेतृत्वमा डा दिनेश चापागाईं, डा कौशल तिवारी, डा सन्तोष शाह, प्राध्यापक पिसी माझी, डा राजेश यादवसहितको टोलीले शल्यक्रिया गरेको थियो । रासस

Post Comment