नेपालगन्ज, ८ पुस । बाँके जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीहरुले सूचनाको हक पूर्णरुपमा कार्यान्वयन गर्ने पाँचबुँदे सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र बी ग्रुपद्वारा आज यहाँ आयोजित सूचनाको हकसम्बन्धी ऐन र त्यसको कार्यान्वयनको अवस्था विषयको छलफल कार्यक्रममा सहभागी पदाधिकारीहरुले लिखित प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर गरिएको प्रतिबद्धतापत्रमा सार्वजनिक निकायमा छिट्टै सूचना अधिकारी तोक्ने, सूचनाको हकसम्बन्धी ऐनअनुसार कार्यालयका निर्णयहरु, सञ्चालित कार्यक्रमलगायतका सूचनाहरु अद्यावधिक गरी प्रत्येक तीन–तीन महिनामा प्रकाशन गर्ने, सूचनाको हकसम्बन्धी ऐनले तोकेअनुसार कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी सहज रुपमा उपलब्ध गराउने, सूचनाको हक र अधिकारको पूर्णरुपमा कार्यान्वयन गर्ने र सार्वजनिक निकायलाई सूचनामैत्री बनाउने बुँदा उल्लेख गरिएको छ ।
कार्यक्रममा बाँके जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीले सूचनाको हकले नै नागरिकलाई अरु अधिकारप्रति सजग र सशक्त बनाउने भएकाले कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
केन्द्रका अध्यक्ष अधिवक्ता इन्द्रजीत तिवारीले प्रस्तुत गर्नुभएको सूचनाको हकसम्बन्धी अवधारणापत्रमाथि सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर सुनार, पत्रकार नीरज गौतम, अधिवक्ताहरु सुनिल श्रेष्ठ, उदयराज वर्मा, भीमबहादुर शाही र गोविन्द खनालले टिप्पणी गर्नुभएको थियो । रासस