सुधारिँदै भक्तपुर अस्पताल, आइसियू सञ्चालनमा ल्याइँदै

समाचार

भक्तपुर, ८ पुस । सरकारले केन्द्रीय अस्पतालको मान्यता दिए पनि जिल्ला अस्पतालको समेत सुविधा नपाएको भक्तपुर अस्पतालले बिरामीलाई गुणस्तरीय सेवा दिँदै सुधार गर्न सुरु गरेको छ ।

अस्पतालले आज आयोजना गरेको बृहत् सरसफाइ कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नवराज गेलालले अस्पताल समग्र सुधारको सुरुवात गरेको बताउनुभयो ।अस्पतालले सेवाग्राहीका लागि हेल्प डेस्क राख्न लागेको, सेवा विस्तार गर्न लागेको, सुरक्षा गार्डको व्यवस्था गर्न लागेको, सर्वसाधारणको पार्किङलाई व्यवस्थित गर्न लागेको, अस्पताल प्राङ्गणमा वर्षौंदेखि काटिएर अलपत्र रहेको काठ लिलाम गर्न लागेको र अस्पतालमा सघन उपचार अर्थात आइसियूको व्यवस्था गर्न लागेको बताउनुभयो ।

गरिब नागरिकले सेवा लिने जिल्लाको यस अस्पतालमा आउने बिरामीले अब उपचार नपाएर फर्कनुपर्ने अवस्था नरहने गरी सुधारको सुरुवात गरेको अध्यक्ष गेलालले बताउनुभयो ।सरकारले केन्द्रीय अस्पताल भने पनि चिकित्सकदेखि प्राविधिक सामग्रीसमेतको अभावका कारण समस्या झेल्दै आएको यस अस्पतालले सुरुवात गरेको सुधारको कामलाई पूर्णता दिन बजेट विनियोजन गर्ने माग गर्दै आज स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको पनि उहाँले बताउनुभयो ।अस्पतालका प्रशासन प्रमुख कृष्णहरि गेलालले अस्पतालमा सरकारले दरबन्दीअनुसार चिकित्सक पठाउन नसक्दा अस्पताल आएका बिरामीलाई अन्यत्र पठाउनुपर्ने समस्या आएको बताउनुभयो ।

गेलालले अस्पताल भवन चुहिएर समस्या आएपछि सरकारको रु ३२ लाखको सहयोगमा छानोमा ट्रस बनाएको जानकारी दिँदै त्यो क्षेत्रलाई पनि सदुपयोग गर्ने बताउनुभयो । अस्पतालले आइसियू सेवा सुरु गर्न लागेको र यसका लागि सरकारसँग बजेट र जनशक्तिको माग गरेको पनि उहाँले बताउनुभयो ।अस्पतालमा आज आयोजना गरिएको सरसफाइ कार्यक्रममा अस्पतालभित्रदेखि अस्पतालको बाहिरी प्राङ्गणको सबै स्थानमा सरसफाइ गरिएको छ । सरसफाइलाई अबदेखि निरन्तरता दिने अस्पताल प्रशासनले जनाएको छ । रासस

Post Comment