रत्ननगर (चितवन), ९ पुस । चितवनको रत्ननगर नगरपालिका– १० मङ्गलपुरमा रहेको गामवेशीको चेपाङ संरक्षण केन्द्रमा रहेका चेपाङ बालबालिकाको शिक्षाका लागि विभिन्न क्षेत्रबाट रु दुई लाखभन्दा बढी सहयोग प्राप्त भएको छ ।
अमेरिकामा बस्ने नेपाली र रत्ननगरका विभिन्न क्षेत्रका व्यवसायीले सहयोग गरेको केन्द्रले जनाएको छ ।रोजगारीको सिलसिलामा अमेरिकामा रहेका नेपालीहरूबाट सङ्कलन गरिएको रु एक लाख ८५ हजार केन्द्रलाई सहयोग प्राप्त भएको हो ।
यस्तै रत्ननगरका ग्रिल व्यवसायी गोविन्द खनालले रु नौ हजार र हार्डवेयर व्यवसायी रामहरि खनालले रु १० हजार सहयोग प्रदान गर्नुभएको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।रत्ननगर–९ मेघौली घर भई हाल अमेरिकामा रहनुभएका विकासराज न्यौपानेको अगुवाइमा सङ्कलन गरिएको रकम उहाँका बुबा तीर्थराज न्यौपानेले केन्द्रका अध्यक्ष केपीकिरण शर्मालाई उपलब्ध गराउनुभएको हो ।
सो रकम चेपाङ बालबालिकाको शिक्षा र विद्यालय भवन निर्माणमा खर्च गरिने शर्माले जानकारी दिनुभयो । रासस