क्रिसमसको चटारोले छोपेको अमेरिका

समाचार

वोस्टन, (अमेरिका) ९ पुस । रिटालाई अहिले चटारोले छोपेको छ । क्यालिफोर्नियामा रहेकी छोरी र न्यूयोर्कमा रहेको छोरोलाई उपहार किनेर पठाउने तयारी गरिरहेकी छन् । उपहार के पठाउने भन्दा पनि कहिले पुग्छ भन्ने चिन्ताले उसलाई सताउन थालेको छ ।

IMG_3152

क्रिसमस अवागै पुगेन भने त उसलाई त्योभन्दा नरमाइलो केही हुँदैन। रिटा मात्र होइन, अमेरिकामा रहेका हरेक (खासगरी क्रिस्चियन धर्माबलम्बीलाई) क्रिसमसको हतारो छ र आफूले पठाएको सरसामान समयमै नपुग्ने हो कि भन्ने चिन्ता पनि छ ।आफूभन्दा टाढा रहेका बाबु आमा वा छोराछोरी, सासू ससुरा, नाति नातिना, काकाकाकी वा निकट नातेदारलाई यो पर्वमा कुनै न कुनै उपहार वा चिनो दिने चलन भएकाले त्यो उपहारलाई हुलाकसम्म पुर्‍याउन पनि धौ धौ पर्ने गरेको छ । अहिले तीन÷चार घण्टा लाइनमा बसेर भए पनि उनीहरूले आफ्नो उपहार सम्बन्धितकहाँ समयमै पुर्‍याउन अमेरिकी हुलाक सेवा, अमेरिकी पार्सल सेवा वा फेडेक्सको सहयोग लिइरहेका छन् ।

ब्ल्याक फ्राइडेदेखि क्रिसमससम्मको करिब २५ दिन अमेरिकी बजारमा क्रय र विक्रयको मुख्य समय मानिन्छ । अघिल्लो वर्ष त्यस अवधिमा दैनिक सरदर २४ लाख उपहारको प्याकेट वा डब्बा वा खाम एक ठाउँबाट अर्को ठाउँमा पुगेको थियो ।कामको व्यस्तता वा अरू नै कारण यहाँका वासिन्दालाई एक क्षण पनि फुर्सद हुँदैन । तैपनि यो पर्वलाई उनीहरू हर्षोल्लासपूर्णरुपमा मनाउन पछि पर्दैनन् । क्रिसमस पर्व क्रिश्चियन धर्मावलम्बीहरूको मुख्य पर्व भएपनि पछिल्ला वर्षहरूमा अन्य धर्मावलम्बीहरूले पनि धुमधामसँग मनाउने गर्दछन् ।

अमेरिका विश्वका विभिन्न देशका विभिन्न धर्मावलम्बीका मानिसहरूको वसोवास रहेकाले अहिले सबैका लागि यो पर्व साझा जस्तै बन्न थालेको छ । अमेरिकामा बस्ने नेपालीहरू पनि एकआपसमा उपहार र शुभकामना आदानप्रदान गर्ने र नेपाललगायत अन्य देशमा रहेका आफन्तजनलाई उपहार पठाउने गर्दछन् ।यस पर्वमा आफ्ना नातेदार वा आत्मीय व्यक्तिलाई सम्झने अवसर भएकाले उनीहरू केही न केही उपहार पठाउने गर्दछन् । आफ्ना मित्रजनहरूबाट पठाइएको उपहार पाउँदा निकै निजसँग भेटेजस्तै अनुभूति हुने गर्दछ र यसले सम्बन्धलाई अझ आत्मीय र प्रगाढ बनाउने डेभिडको अनुभव छ ।

उपहारहरू निश्चित दिनभित्रै सकुशल सम्बन्धित व्यक्तिको ठेगानामा पुगोस् भन्ने हेतुले युनाइटेड पार्सल सर्भिस (युपिएस) ले ९५ हजार कामदारको परिचालन गरेको छ भने अर्को फेडेक्स कम्पनीले ५० हजार कामदारलाई क्रिसमसको अवसरमा नियुक्ति गरेको छ । यो अवधिमर युनाइेड पार्सल सर्भिसले ५८ करोड ८५ लाख, फेडेक्सले २९ करोड र अमेरिकी हुलाक सेवाले ४७ करोड थान सरसामान वा उपहारको प्याकेट वा खाम सम्बन्धित व्यक्तिको घर ठेगानामा पुर्‍याएका छन् ।गत सोमबार अमेरिकाको इतिहासमा नै सर्वाधिक सरसामान पठाउने दिनका रुपमा परिचित छ । यो दिनमात्र तीन करोड ४० लाख प्याकेटको पठाउने काम भएको थियो । यो वापत ती हुलाकहरूले पाउने वा असुल्ने रकम अर्बौ डलर हुन्छ ।

आफन्तलाई खामबन्दी गरेर पठाइने सरसामानको सूची लामो छ । एकैजनाले तीन चारवटासम्म बक्सा पठाउने भएकाले समय पनि धेरै नै लाग्ने गरेको पार्सल कम्पनिहरू बताउँछन् ।कसलाई पठाउन लागेको हो त्यस अनुसार नै पठाउने व्यक्तिले प्रापकको उमेर, रुचि, सोख र आवश्यकतालाई ख्याल गरेर त्यही अनुरुपको सरसामान किनेर पठाउने गर्छन् । फुटबल खेलाडी वा वास्केटबल खेलाडीलाई उपहार पठाउँदा उसलाई मनपर्ने खेलाडीको नंबर अंकित जर्सी वा अन्य यस्तै सामग्री पठाउने गरिन्छ ।

प्रायःजसोले नयाँ नयाँ प्रविधि जस्तै आइफोन, आइप्याड, आइपड, ल्यापटप वा क्यामरा पठाउने गर्छन् भने लत्ताकपडा, घडी, औंठी (प्रायः प्रेमिकालाई) जुत्ता, चप्पल, टोपी आदि पनि पठाउने चलन छ । त्यसबाहेक खाममा मात्र हालेर पठाइने स्क्र्याच टिकट पनि हो । अमेरिकाको प्रायः हरेक राज्यमा खुलेका यस्ता स्क्याच टिकटको माग यति बेला ह्वात्तै बढ्ने गर्दछ ।

लटरी अफिसले यो समयका लागि भनेर विशेष किसिमको लटरी टिकट पनि प्रकाशन गर्ने चलन छ । यसबाहेक यो पर्वमा सर्वाधिक खपत हुने नगद सरहको उपहार कार्ड पनि हो । प्रेषक र प्रापकको गच्छेअनुसार २५, ३०, ४०, ५० वा सय डलरको उपहार कार्ड पठाएमा प्रापकले आफूले रुचाएको सामान त्यही कार्ड प्रयोग गरेर किन्न सक्ने भएकाले यसको प्रयोग बढी हुन्छ ।कसैकसैले त नगद र विभिन्न सन्देश बोकेका क्रिसमस कार्ड पनि हालेर पठाउने गर्छन् । हुलाकी ट्रेसी भन्छिन् ‘अरू बेलाभन्दा यो बेलामा ज्यादै नै सम्वेदनशील, कामप्रतिको लगाव र कठिनता पनि झेल्नुपर्ने हुन्छ । समयमा नै ग्राहकको घर ठेगानामा पुगेन भने ज्यादै नै नरमाइलो मान्छन् ।

यतिबेला हुलाक, अन्य माध्यमबाट सामन पठाउँदा चोरीको पनि डर हुन्छ । त्यस्ता खामबन्दी वा प्याकेटहरू घर बाहिर छोड्दा बदमास व्यक्तिहरूले चोरेर पनि लैजाने गरेकाले प्रापककै हातमा परोस् भन्ने मनसाय सबैको हुन्छ । झण्डै एक महिनादेखि अमेरिका र बाहिर रहेका क्रिश्चियन धर्मावलम्बीहरू यस पर्वको अवसरमा घुमफिर गर्ने, उपहारहरू आदानप्रदान गर्ने र शुभकामना आदानप्रदान गरेर मनाउँदैछन् । रासस

Post Comment