तरकारीखेतीका लागि ७२ युवालाई अनुदान रकम प्रदान

समाचार

कञ्चनपुर, ९ पुस । वैदेशिक रोजगारमा जानबाट युवालाई रोक्नका लागि जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले व्यावसायिक तरकारीखेतीका लागि ७२ जना युवालाई अनुदानस्वरुप रु ४३ लाख २० हजार रकम उपलब्ध गराएको छ ।युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअन्तर्गत छनोटमा परेका ७२ जना युवालाई रु ६० हजारका दरले अनुदान रकम प्रदान गरिएको हो ।

“व्यावसायिक तरकारीखेतीका लागि विदेशबाट फर्केका, विदेश जाने इच्छा देखाएका, विपन्न, दलित, द्वन्द्वपीडित, तरकारी खेतीबारे तालिम लिएका र गत वर्ष तरकारी खेतीका लागि आवेदन दिएका छनोटमा नपरेका युवालाई छनोट गरी अनुदान रकम उपलब्ध गराएका छौँ”, कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले भन्नुभयो ।छनोटमा परेका युवाले एक बिगाहा खेतमा तरकारीखेती गर्नुपर्ने गरी सम्झौता गरिएको छ । तरकारीखेतीका लागि अनुदान उपलब्ध गराइएका युवालाई व्यावसायिक खेतीबारे तालिम दिई दक्ष बनाइने अधिकृत थापाले बताउनुभयो ।

तरकारी खेतीका लागि १८ वर्षदेखि ५० वर्ष मुनिकालाई छनोटमा पारिएको छ । गत वर्ष सोही कार्यक्रमअन्तर्गत ४० जना युवालाई रु ६० हजारका दरले व्यावसायिक तरकारीखेतीका लागि अनुदान रकम उपलब्ध गराइएको थियो ।दक्ष युवा कृषि पेसा छाडेर वैदेशिक रोजगारीमा जान थालेपछि कृषिमा युवा जनशक्तिविहीन बन्दै जान थालेपछि युवा लक्षित कार्यक्रम सञ्चालन गरी युवालाई कृषिमा संलग्न गराउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ

यसैगरी, कृषि विकास कार्यालय कञ्चनपुरले व्यावसायिक किट विकास कार्यक्रमअन्तर्गत ४० जना युवालाई च्याउखेतीका लागि रु १९ लाख रकम अनुदानस्वरुप प्रदान गरेको छ ।प्रतियुवा रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ । रासस

Post Comment