मेरी क्रिसमस आज मनाइदै

समाचार

काठमाडौँ, १० पुस । जिजस क्राइष्टको जन्मोत्सवका उपलक्ष्यमा इसाईहरूले आज क्रिसमस मनाउँदैछन् ।

IMG_3158

इसाई धर्मावलम्बीले येशुको कन्या (मारियम) को कोखबाट जन्म भएको र मारियमको विवाह युसुफसँग हुन लागेको समयमा स्वर्गदूतले मानव समुदायको कल्याणका लागि संसारमा येशुले जन्म लिन लागेको भविष्यवाणी गरेको विश्वास गर्छन् ।तत्कालीन समयमा गरिने अन्याय, अत्याचार तथा विभेदबाट मानिसलाई मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको भनाइ छ । प्रभु येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँकै सम्झनामा इस्वी संवत् प्रारम्भ भएको विश्वास गरिन्छ ।

विशेषगरी दुःखी, गरिब, असहाय र उत्पीडित वर्गलाई सामाजिक रूपमा सशक्त बनाउन मानव समुदायलाई शिक्षा तथा सन्देश दिनुभएका येशुको जीवनको त्याग सम्पूर्ण मानिसका लागि प्रेरणा बन्न सक्ने इसाई धर्मावलम्बीहरू बताउँछन् ।राष्ट्रिय क्रिश्चियन महासङ्घ नेपालका महासचिव सिवी गहतराजका अनुसार नेपालमा क्रिश्चियन धर्मको ४०० वर्षदेखिको इतिहास रहेकामा २०६२/६३ को आन्दोलनपछि धर्मनिरपेक्ष राष्ट्र बनेसँगै यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउन थालिएको छ ।

क्रिसमस इसाई धर्मावलम्बीको विशेष पर्व हो । यसलाई देश तथा विदेशमा भव्य रूपमा मनाइने गरिन्छ । प्रत्येक वर्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीले शुद्ध हृदयदेखि नै येशुको प्रशंसा तथा प्रार्थना गरी अङ्गुरको झोल पिउने र केक काट्ने परम्परा छ ।

आजका दिन इसाई धर्मावलम्बीले येशुको सम्झना गर्दै गिर्जाघरमा एकचित्त भएर भोज खाने तथा मनोरञ्जन गर्ने गर्छन् । रासस

Post Comment