भक्तपुर, १३ पुस । उद्योग मन्त्री महेश बस्नेतले सहमति नभए प्रक्रियाबाटै भए पनि माघ ८ मै संविधान जारी हुने बताउनुभएको छ ।
युवा सङ्घ नेपाल भक्तपुरको आठौँ जिल्ला अधिवेशनको आज समापन कार्यक्रममा नयाँ पदाधिकारीलाई बधाई दिँदै उहाँले संविधान जारी गर्ने मिति माघ ८ बाट पर नजाने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “माघ ८ भित्रै संविधान जारी गर्न सहमतिको प्रयास भइरहेको छ, सहमतिबाटै संविधान जारी गर्ने हो, सहमति हुन नसके प्रक्रियाबाटै भए पनि संविधान जारी हुन्छ, संविधान जारी गर्ने मिति माघ ८ भन्दा उता जाँदैन ।”
एनेकपा माओवादी र मधेसी मोर्चासँग सहमतिका लागि प्रयास जारी रहेको बताउँदै उहाँले सहमतिबाट कोही पनि भाग्न नहुने औँल्याउनुभयो । एमाओवादी र मधेसी मोर्चाले आन्दोलनको घुर्की देखाएर काँग्रेस, एमालेलाई तर्साएर आफूले भनेका सबै मुद्दामा सहमति गराउँछौँ भन्ने सोचेको भए त्यो कदापि पूरा नहुने उहाँको भनाइ थियो ।
उहाँले सहमतिबाट भागेर संविधान निर्माण प्रक्रिया बिथोल्न खोजे त्यसको जवाफ जनताले दिने टिप्पणी गर्दै मन्त्री बस्नेतले सहमतिबाट भागे प्रक्रियाबाटै संविधान बनाउने बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक गणेशबहादुर खत्री र चिनीमाया वाटीलाई सम्मान गरिएको थियो ।
यसैबीच, युवा सङ्घ नेपाल भक्तपुरको अध्यक्षमा दीपक दाहाल चयन हुनुभएको छ । अधिवेशनले दाहालको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।
सङ्घको उपाध्यक्षमा राजन गोसार्इं, सचिवमा राजु श्रेष्ठ, सहसचिवमा देवेन्द्र सुवाल, कोषाध्यक्षमा सुधीर कार्की, तथा सदस्यहरू रामचन्द्र कसवाल, अनिल खड्का, रामकुमार कार्की, दिपेश केसीलगायत रहेका छन् । रासस