भक्तपुर, १३ पुस । घोषणा गरिएका चार नयाँ नगरपालिकाले गाउँ गाउँमा वडा नागरिक मञ्च गठन गर्ने कार्य तीव्र पारेका छन् ।
स्थानीय निकायमा दलीय प्रतिनिधि नभएपछि वडाबाट विकासका योजना छनोट गरी नगरपालिकामा पठाउने निकायका रूपमा मञ्च गठन गरिएको हो । मञ्च गठन गर्नेक्रममा कतिपय वडामा दलसमेतको छलफलमा सर्वसम्मत रूपमा मञ्च गठन गरिए पनि धेरैजसो वडामा भने निर्वाचन प्रक्रियाबाटै पदाधिकारी छनोट भएको छ । दलीय भागबन्डा नमिलेका कतिपय वडामा भने चर्को विवादका कारण मञ्च गठन गर्ने कार्य नै अवरुद्ध हुन थालेको छ ।
नयाँ नगरपालिकाले यही पुस मसान्तसम्म नगरपरिषद् गरेर वार्षिक कार्यक्रम सार्वजनिक गरिसक्नुपर्ने भएकाले मञ्च गठन गर्ने कार्य तीव्र पारिएको महामञ्जुश्री–नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत शालिग्राम पौडेलले जानकारी दिनुभयो ।चारवटै नगरपालिकाअन्तर्गत आधाभन्दा बढी क्षेत्रमा मञ्च गठन गरिसकिए पनि आधा क्षेत्रमा विवाद छ ।
सूर्यविनायक नगरपालिकाअन्तर्गत कटुञ्जेमा मञ्च गठन गर्नेक्रममा विवाद चर्किएपछि गठन गर्ने कार्य नै रोकिएको स्थानीयवासी दुर्दम थापाले जानकारी दिनुभयो । विवाद भएका अधिकांश वडामा दलीय भागबन्डा नमिलेको र निर्वाचन प्रक्रियामा पनि जान दलहरू मानेका छैनन् ।
विवाद भएर रोकिएको वडामा पुनः भेला बोलाएर मञ्च गठन गर्ने प्रक्रिया सुरु गरिने सूर्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत रमेश फाँजूले जानकारी दिनुभयो । रासस