‘सडकमै खाऊँ, सडकमै रमाऊँ’- पोखरा सडक महोत्सव आजदेखि

समाचार

पोखरा, १३ पुस । भारतीय राजदूत रन्जित रेले पर्यटनको माध्यमबाट भारत र नेपालको जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउनु पर्ने बताउनुभएको छ ।

IMG_1955

रेवान पोखराले आजदेखि यहाँ सुरु गरेको सडक महोत्सवको उद्घाटन गर्दै राजदूत रेले भारत र नेपालका धेरै सांस्कृतिक विशेषताहरू मिल्ने भएकाले पनि यसले सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने धारणा राख्नु भयो ।उहाँले नेपाल र भारतबीच खुला सिमाना भएका कारण आवतजावतमा कुनै झन्झट नभएकाले नेपाल घुम्न आउने भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएकाले पनि अब राज्यस्तरबाट पनि यसलाई व्यवस्थित गर्न आवश्यक भएको बताउनुभयो ।

‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा लेकसाइडको तीन किलोमिटर क्षेत्रलाइ दुलही झैँ सिँगारिएको छ । महोत्सव क्षेत्रमा सडकमा नै कुर्ची, टेबल राखेर विभिन्न खानाका स्टलहरू, सांस्कृतिक तथा खेलकुद कार्यक्रम गरिने भएको छ ।

महोत्सव उद्घाटनको अवसरमा पोखरा आसपासका साथै देशका विभिन्न स्थानको सांस्कृतिक भेषभूषा प्रदर्शनसमेत गरिएको थियो । महोत्सवको अवधिभर वसुन्धरा पार्कमा विशेष सांस्कृतिक कार्यक्रम, लोकदोहोरी गीत, बाल उद्यान, ख्यातिप्राप्त पप ब्यान्डहरूको प्रस्तुति, आतसबाजी, राष्ट्रिय तथा स्थानीय हास्य कलाकारको प्रस्तुतिसमेत देखाइने भएको छ ।

महोत्सव पाँच दिनसम्म सञ्चालन हुने छ । रासस

Post Comment