३९ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस पुस १६ गते

समाचार

काठमाडौँ, १४ पुस । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले २०३३ सालमा विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहलगायतका नेताहरू भारतबाट स्वदेश फर्कनु भएको दिन पुस १६ गते विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ ।काँग्रेसले हरेक वर्ष पुस १६ गते मनाउँदै आएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशव्यापीरूपमा भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिले विविध कार्यक्रमसहित मनाउने काँग्रेसद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

यसै सन्दर्भमा यही पुस १६ गते बिहान ११ बजे प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा ३९ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने कार्यक्रम रहेको पार्टीका मुख्यसचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र नेपाली जनताको स्वाभिमान र सर्वोच्चताको स्थापना गर्न नेपालीहरूकै बीचमा रहनु पर्दछ र उनीहरूका सुख दुःखमा सरिक हुनुपर्दछ भन्ने सोचका साथ बिपी कोइरालासहितका नेताहरू २०३३ साल पुस १६ गते स्वदेश फर्कनुभएको थियो ।

देशभित्रका समस्याहरूको समाधान सार्वभौम जनताहरूबाट नै गरिनु पर्दछ र त्यसका लागि उनीहरूलाई सचेत र जागरुक बनाउनु पर्दछ भन्ने उद्देश्यका साथ नेताहरू आफ्नो ज्यानको बाजी लगाएर स्वदेश फर्कनुभएको थियो । रासस

Post Comment