काठमाडौँ, १३ पुस । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान उपत्यकाभित्रका रङ्गमञ्चीय परम्पराको ऐतिहासिक धरोहरको रूपमा रहेको डबलीको प्रयोग गर्ने अभियान सुरु गरेको छ ।
सोही अभियानअन्तर्गत आज बसन्तपुर डबलीमा ‘घुङ्ग्रिएको कपाल’ नाटक प्रदर्शनी गरिएको छ ।राई समुदायको कथा समेटिएको सो नाटकमा एक बालकले आफूलाई सामन्ती शासकबाट उम्काउन गरेका विविध क्रियाकलापलाई देखाइएको छ ।
नाटकको मुख्य पात्रका रूपमा रहेका बालक ‘हेच्छा कुप्पा’ अनाथ हुन्छन् । गरिबीका कारण उनकी दिदीसमेत एक शासकका घरमा कामदारका रूपमा रहेकी हुन्छिन् । उनलाई विभिन्न यातना समेत दिइएको हुन्छ । आफ्नी दिदीलाई फर्काउन गएका बालकलाई समेत शासकले बन्धक बनाउँछन् । बालकलाई डोरीले बाँधेर राख्छन् । अन्त्यमा बालकले आफूलाई त्यहाँबाट उम्काउन सफल हुन्छ र नाटक सकिन्छ ।
राजन मुकारुङ्द्वारा लिखित सो नाटकको निर्देशन दयाहाङ् राईले गर्नुभएको हो । नाटक मण्डला थिएटरको संयोजनमा देखाइएको हो ।प्रतिष्ठानका सदस्य माधव प्रधानले कला विकासको स्वर्ण युगका रूपमा रहेको मल्लकालका डबलीको प्रयोगले यसको महत्व दर्शाएको बताउनुभयो ।
उपत्यकाका अन्य डबलीमा विभिन्न खालका नाटक, नृत्य, लोकगीत, वाद्यबादनजस्ता कार्यक्रम गरी यसको प्रयोग र महत्वलाई बढाइनेसमेत उहाँले बताउनुभयो । रासस