चीनसँग भएको समझदारीले नेपालको सञ्चार क्षेत्रमा ठूलो सहयोग पुग्ने

समाचार

काठमाडौँ, १४ पुस । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले नेपाल र चीनबीच हस्ताक्षर भएको ‘सञ्चार आदानप्रदान तथा सहयोगसम्बन्धी समझदारीपत्र’ले नेपालको सञ्चार क्षेत्रमा ठूलो सहयोग पुग्ने बताउनुभएको छ ।

चीनको साताव्यापी भ्रमण पश्चात् आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा रिजालले सो जानकारी दिँदै त्यहाँको राज्य परिषद् सूचना मन्त्रालयका मन्त्री काई मिङझाओबीच सूचना प्रविधिको क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्ने तथा दुईपक्षीय चासोका सञ्चारसम्बन्धी विषयमा सहकार्य गर्न सो समझदारी भएको स्पष्ट पार्नु भयो ।

उक्त समझदारी पत्रमा हस्ताक्षर पश्चात् नेपाल र चीनबीच पत्रकारिता, सूचना समाचार, पत्रकार, अध्ययन, सरकारी प्रतिनिधिलगायतबीचमा सहयोगको आदानप्रदान हुने र यसले नेपालको सम्पूर्ण सञ्चार क्षेत्रको गुणस्तरीयतामा योगदान पुग्ने सञ्चार मन्त्रीले विश्वास व्यक्त गर्नु भयो । मन्त्री रिजालले नेतृत्व गर्नुभएको टोलीले चिनियाँ अधिकारीसँगको वार्तापछि उक्त समझदारीपत्रमा मन्त्री रिजाल र उहाँका चिनियाँ समकक्षी काईले हस्ताक्षर गर्नुभएको थियो ।

त्यसैगरी मन्त्री रिजालले पेकिङ अन्तर्राष्ट्रिय रेडियोका साथै बेइजिङमा सूचना तथा सञ्चार क्षेत्रका प्रमुख एवम् कार्यकारी अधिकृतहरूसँग सञ्चारका क्षेत्रमा समेत छलफल भएको बताउनुभयो ।चिनियाँ समकक्षी काईको निमन्त्रणमा चीन भ्रमण पश्चात् गएराति स्वदेश फर्कनुभएका उहाँले चिनियाँ अन्तर्राष्ट्रिय प्रकाशन समूह, हुवेई कम्पनीको बेइजिङ प्रदर्शनी केन्द्रको अवलोकन भ्रमण गर्नुका साथै चीनका लागि नेपाली राजदूत महेश मास्केले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी भएको जानकारी दिनुभयो ।

भ्रमणका अवसरमा नेपाली प्रतिनिधिमण्डलले चीनको वित्तीय केन्द्र साङ्घाईको भ्रमण गर्नुका साथै मन्त्री रिजालले साङ्घाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा ‘चीन तपाइँको आँखामा’ विषयमा प्रवचन दिनुभएको थियो ।उहाँले इन्टरनेट सेवा प्रदायक कम्पनी इस्टडे डटकमको कार्यालयमा पुगेर इन्टरनेटको प्रभावकारिता एवम् उपयोगबारे जानकारी लिनुभएको थियो । उहाँले साङ्घाई महानगरपालिकाको प्रकाशन विभाग, चिनियाँ स्वतन्त्र व्यापार क्षेत्र, अनुसन्धान तथा विकास केन्द्र र चलचित्र सङ्ग्रहालयको अवलोकन भ्रमण गरेर त्यहाँका उच्च अधिकारीहरूसँग द्विपक्षीय हितका साथै सञ्चारसम्बन्धी विविध विषयमा छलफल गर्नुभएको सञ्चारकर्मीलाई जानकारी गराउनुभयो ।

पत्रकार सम्मेलनमा भ्रमण टोलीमा रहनुभएका सञ्चार मन्त्रालयका सहसचिव कविराज खनालले उक्त समझदारीमा हस्ताक्षर पश्चात् सञ्चारका क्षेत्रमा सूचना, इन्टरनेट, अनुभव, नीति र रणनीतिका सम्बन्धमा सहयोगको आदानप्रदान हुनुका साथै नियमित रुपमा दुवै देशका सूचना विभागबीच भ्रमण र सञ्चार हुने जानकारी दिनुभयो ।सहसचिव खनालकाअनुसार समझदारी पत्रमा सञ्चार क्षेत्रमा सशक्तीकरण गर्न व्यावसायिक जनशक्तिको विकासको लागि दुवै मुलुकबीच भ्रमण गरिने र दुवै मुलुकको सहजताका लागि सूचना र सञ्चार क्षेत्रका अनुभव र सहयोग अभिवृद्धि विदेशी भाषामा समेत प्रकाशन गरिने छ ।

हस्ताक्षर भएको दिनदेखि लागू हुने र पाँच वर्षसम्म कायम रहने यस समझदारी पत्रअनुसार दुवै मुलुक सदस्य भएका सञ्चारसम्बन्धी क्षेत्रीय र अन्तर्राष्ट्रिय सङ्गठनमा पनि कार्यगत एकता गरिने छ । रासस

Post Comment