मिर्गौला दिनेमा ८० प्रतिशत महिला, पुरुषले दान गरेमा उपचारमा ५० हजारको छुट

समाचार

भक्तपुर, १४ पुस । मानव अङ्ग प्रत्यारोपन केन्द्र भक्तपुरले मिर्गौला दान गर्नेमा ८० प्रतिशत महिला रहेको जनाएको छ । केन्द्रले मिर्गौला दान गर्नेमा पुरुषको सङ्ख्या अत्यन्तै न्यून रहेको जनाउँदै यसको सङ्ख्यामा वृद्धि गर्न उपचार खर्चमा रु ५० हजार छुट दिन सुरु गरेको छ ।केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मिर्गौला दान गर्नेमध्ये ८० प्रतिशत महिला र २० प्रतिशत मात्रै पुरुष रहेको बताउँदै यसमा पुरुषको सङ्ख्या वृद्धि गर्न केन्द्रले उपचार खर्चमा लाग्ने रकममध्ये रु ५० हजार छुट दिन सुरु गरेको बताउनुभयो ।

केन्द्रमा अहिलेसम्म ४८ जना पुरुष र आठ जना महिला गरी ५६ जनाको मिर्गौला प्रत्यारोपन गरिएको उहाँले जानकारी दिनुभयो । जसमा मिर्गौला दान गर्ने ४३ जना महिला र १३ जना पुरुष रहेका छन् । यसमा पनि पुरुषले पुरुषलाई मात्रै दिएको र पुरुषले महिलालाई दिएको एकजना मात्रै रहेको छ । केन्द्रमा दुईसाता अघि दाजु सुधिर श्रेष्ठले बहिनी जरिना श्रेष्ठलाई मिर्गौला दान गरेपछि उपचारमा लाग्ने रकममध्ये रु ५० हजार बराबर छुट दिने अभियान सुरु गरेको हो ।

केन्द्रमा मिर्गौला प्रत्यारोपणका लागि उपचार खर्च करिब रु तीन लाख ५० हजार लाग्ने गर्दछ । जसअन्तर्गत पुरुषले महिलालाई मिर्गौला दान दिएमा केन्द्रले रु २५ हजार र आरोग्य फाउन्डेसनले रु २५ हजार ब्यहोर्ने गरी रु ५० हजार बराबरको रकम छुट दिने व्यवस्था गरेको हो ।मिर्गौला दानमा पुरुषलाई पनि सक्रिय बनाउन सके मिर्गौलाका धेरै रोगीले मिर्गौला नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआउने केन्द्रका निर्देशक डा श्रेष्ठ बताउनुहुन्छ ।

अहिले पनि मिर्गौला दानको दायरा फराकिलो नपार्दा भारतमा गएर उपचार गर्नेको सङ्ख्या नघटेको उहाँको भनाइ छ । सरकारले परिवारभित्रका आमा बाबु, छोरा बुहारी, छोरी, नाती नातिना, धर्मपुत्र, धर्मपुत्री, भतिजा, भतिजी, दाजु, भाइ, दिदी, बहिनीबाहेक अरुले मिर्गौला दान गर्न नपाईने व्यवस्था गरेको छ ।

यसले कतिपयले चाहेर पनि मिर्गौला दान गर्न नपाउँदा महँगोमा मिर्गौलाको उपचार गर्न बिरामी भारत जाने गरेका छन् । सरकारले मिर्गौला दान गर्ने कानुन फराकिलो बनाएर साथीले पनि मिर्गौला दान गर्न सक्ने व्यवस्था गरे उपचारका लागि भारत जाने बिरामीको सङ्ख्या निकै कमी हुने डा श्रेष्ठले दाबी गर्नुभयो । रासस

Post Comment