तमु ल्होसार आज

सोमबार , साउन ३०, २०७९
भर्खरै

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री सुशील कोइरालाले सबै तमु समुदायलाई संविधानसभाबाट नयाँ संविधान निर्माण गरी छ दशकभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनबाट प्राप्त सङ्घीयता, गणतन्त्र, समावेशितासहितको लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्र्ने कार्यमा समस्त राजनीतिक दललाई साथ दिन अनुरोध गर्नुभएको छ ।

बाह्र वर्षको समयचक्र पूरा गरी नयाँ वर्ष पुनः ल्हु ल्हो (भेडा वर्ग) मा आइपुगेको यस घडीमा उहाँले तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष (ल्होछार) का उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका समस्त दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै विविधताले युक्त भएर पनि विभिन्न समुदायबीचको आपसी सद्भाव, सहकार्य र मेलमिलापले सामाजिक सम्बन्ध अत्यन्त सुमधुर बनाएको र आत्मीयता बढाएको बताउनुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको र भौगोलिक, जलवायु र जैविक विविधतायुक्त नेपाली भूभाग प्रकृतिको अनुपम सुन्दर फूलबारी हो भन्दै उहाँले हाम्रो उदार बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्थाले सबै नागरिकलाई आफ्नो रुचिअनुसारको राजनीतिक विचार र धर्म अवलम्बन गर्ने स्वतन्त्रता तथा आफ्नो धर्म, संस्कृति, वेशभूषा, भाषा र परम्पराको संरक्षण र संवद्र्धन गर्ने स्वतन्त्रता दिएको र एकार्काका धर्म, संस्कृति, परम्परा र भाषालाई सम्मान गर्ने सुसंस्कार विकसित भएको उल्लेख गर्नुभएको छ ।

“जातीय विविधतायुक्त हाम्रो मुलुक हरेक जातिको ऐतिहासिक योगदान, वेशभूषा, भाषा र संस्कृतिबाट समृद्ध भएको छ, तमु अर्थात् गुरुङ जातिमा पलाएको यस्तो जाँगरले यस जातिलाई ऐतिहासिक र साँस्कृतिक रूपमा अझ समृद्ध बनाएको छ” प्रधानमन्त्रीले भन्नुभएको छ ।

संविधान निर्माणका दिशामा जिम्मेवार ढङ्गले अग्रसर हुन आह्वान

गुरुङ समुदायको नयाँ वर्ष तथा तमु ल्होछारका उपलक्ष्यमा विभिन्न राजनीतिक दलका नेताले शुभकामना दिँदै तमु ल्होछारसहित नेपाली समुदायमा मनाइने यस प्रकारको पर्वले शान्ति, संविधान र समृद्धिको नेपालीको चाहनालाई मूर्त रूप दिन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले यस उपलक्ष्यमा आज शुभकामना विविध जातजाति, भाषाभाषी, संस्कृति र चाडपर्व रहेको नेपाल जस्तो देशमा यसकै माध्यमले राष्ट्रिय एकतालाई मजबुत बनाउन र आपसी मित्रता, मेलमिलाप, भाइचारा र सद्भाव बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रतिबद्धता अनुरूप नै आगामी माघ ८ गतेभित्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न आफ्नो दल कृतःसंकल्पित रहेको बताउनुभएको छ ।

तमु ल्होसारका अवसरमा आज सम्पूर्णमा सुस्वास्थ्य, सुखशान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले सार्वजनिक रूपमा गरिएको प्रतिबद्धता पूरा नगर्दा जनतामा राजनीतिक दल र लोकतन्त्रप्रति नै नकारात्मक मनोविज्ञान विकास हुन सक्ने र मुलुकमा अस्थिरता फैलाउन चाहने अतिवादी तत्वले लाभ उठाउन सक्ने कुरालाई हृदयङ्गम गर्दै सबै राजनीतिक दललाई संविधान निर्माणको दिशामा जिम्मेवार ढङ्गले अग्रसर हुन आह्वान गर्नुभएको छ ।

उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषता बोकेको नेपाली समाजमा ल्होछार जस्ता पर्वले नागरिकका बीचमा आत्मीयता, सौहाद्र्र र घनिष्ठ सम्बन्ध विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।“सांस्कृतिक विविधता हाम्रो सम्पदा हो र विविधताभित्रको साझा नेपाली पहिचान हाम्रो सबलता हो, मुलुक नयाँ संविधानमार्फत् राज्यको अग्रगामी पुनर्संरचना र समावेशी लोकतन्त्रको दिशामा अगाडि बढिरहेको बेला यस्ता पर्वले हामीलाई सामाजिक सांस्कृतिक सहकार्य, सहअस्तित्व र पारस्परिक सम्मानको सन्देश दिने छन्”–उहाँको सन्देशमा भनिएको छ ।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पनि सो अवसरमा आजै शुभकामना सन्देश दिँदै दोस्रो संविधानसभाबाट महिला, दलित, आदिवासी–जनजाति, मुसलमानलगायत सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका जनसमुदायको अधिकार सुनिश्चित गर्ने कार्यभार पूरा गर्नु हामी सबैको ऐतिहासिक अभिभारा भएको बताउनुभएको छ । नेपालको विविध संस्कृति र समुदायका बीचमा अझ बढी सद्भाव र सहकार्यको वातावरण बनाउन तमु ल्होछारले भूमिका खेल्ने विश्वास व्यक्त गर्दै अब बन्ने जनताको संविधानमा सबैको अधिकारलाई सुनिश्चित गर्न आफ्नो दलले अन्तिमसम्म पहल र प्रयत्न गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले आफ्नो सन्देशमा नेपालको अखण्डता, एकता र स्वाधीनतालाई अक्षुण्ण राख्न तथा विविधतामा एकता कायम गरी विश्व समुदायमा नेपालको मौलिक पहिचान एवम् विशिष्टतालाई उँचो राख्न अन्य जाति र समुदायसरह तमु समुदायको उल्लेखनीय इतिहास र योगदान रहेको बताउनुभएको छ । रासस

Post Comment