‘पुसे १५’ पर्व आज उल्लासमय वातावरणमा मनाइँदै

समाचार

धनगढी, १५ पुस । डोटेली लोक संस्कृतिको मौलिक पहिचान बोकेको ‘पुसे १५’ आज रात हर्षोल्लासपूर्वक मनाइँदैछ ।

वर्षभरिको सबैभन्दा लामो रात भएको विश्वासमा मनाइने यो पर्वमा टोल र छरछिमेकमा भेला भई रातभर जाग्राम बस्ने, यसरी जाग्राम बसेको बेला तरुल, कन्दमूल उसिनेर खाने, बुढापाकाबाट लोक एवम् दन्त्य कथा सुन्ने र सुनाउने परम्परा रहिआएको छ ।

यसैगरी, रातमा एक ठाउँमा भेला हुनेले १५ हात लामो दाउराको मुढो बालेर आगो ताप्नुपर्ने र एक आपसमा हाँसो ठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने प्रचलन रहेको छ ।आजको रात उल्लासमय वातावरणमा मनाउन हरेक घरमा लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका मीठा परिकार पकाउने तयारी गृहिणीले गरेका छन् ।

यो पर्वका बेला विवाहिता छोरीलाई माइती घर बोलाई स्वागत सत्कार पनि गर्ने गरिन्छ । विशेष गरी रातभर यो पर्व मनाउने परम्परा रहेको भए पनि आधुनिक र बदलिँदो परिवेशमा यसको महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै गएको भन्दै कतिपयले बुढापाकाले चिन्ता व्यक्त गर्न थालेको स्थानीय शिक्षक लेखराज ओझा बताउनुहुन्छ । रासस

Post Comment