काठमाडौँ, १९ पुस । सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले युवालाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नेगरी ‘दसवर्षे कार्ययोजना’को मस्यौदा तयार गरिएको जानकारी दिनुुभएको छ ।
युवा सङ्घ नेपाल, काभ्रे अन्तरजिल्ला समन्वय कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले युवा वर्गलाई स्वदेशमा विभिन्न सीप, तालिम तथा रोजगारीको अवसर उपलब्ध गराएर बाहिर जाने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।
उहाँले निजामती सेवामा युवाको आकर्षण बढउन त्यस क्षेत्रलाई युवामैत्री बनाउनेमा जोड दिँदै स्वदेशमा जागिर खाई विदेशमा अस्थायी नागरिकता (पिआर) लिने कर्मचारीको लगत सङ्कलन भइरहेको त्यसको प्रतिवेदन आएपछि उनीहरूलाई कारबाही गरिने जानकारी दिनुभयो ।
सो कमिटीका अध्यक्ष तीर्थ श्रेष्ठले युवा वर्गले देश र समाजका लागि योगदान गर्न सक्ने सम्भावना बोकेकाले उनीहरूलाई सिर्जनशीलता र अवसरको खाँचो रहेको उल्लेख गर्दै युवा सशक्तीकरणका लागि विभिन्न सामाजिक कार्यका साथै रक्तदानका कार्यको सञ्चालन आफ्नो संस्थाले गर्दै आएको बताउनुभयो । रासस