- जाँदाजाँदै उसले अनुरोध गरेको थियो
- मेरो लास माथि माटो चढाउन आउनेलाई मेरो हात देखाई दिनु
- अनुरोध ! एक बिश्वविजेताको !
- हो, अब परिस्थितिले आदेश दिनसक्ने अवस्थामा थिएन ऊ
- किन यस्तो लाचारी ? बिश्वबिजेता सेनापतिको ?
- युद्ध नसामा बग्दथ्यो उसको, सोचमा सँधै विजय सल्बलाई रहन्थ्यो
- बल पराक्रमको धनी, रिपुमर्दनको शोख, बिजयोन्मादमा गर्जदा काँप्थे शत्रु
- तर यो लाचारी !
- धेय थियो सम्पूर्ण धरतीको अधिपति हुने, एकछत्र मालिक हुने
- जित्यो, जित्दै गयो र अन्तयमा सोच्न बाध्य भयो
- अभिलाषा र आवश्यकताबिचको सानो अन्तर बल्ल बुझ्यो
- ज्ञान प्राप्तिमा यो ढिलाइ किन ? गम्य हुन कठीन कुरा के नै थियो र ?
- भलै अन्तिम अवस्थामा बुझ्यो, तर बुझ्यो उसले बरा !
- बोध त भयो, महानता फगत जमिन माथिको विजयमा छैन भनेर
- आवश्यकता छ हात जमिनको टुक्रामा नै सीमित हुन्छ भनेर
- महापराक्रमी र बलबान त समय हो
- अनुरोध गर्यो, लासमाथि माटो छर्न आउनेलाई हात देखाईदिन
- महानता दर्शाउँदै, विश्व विजेता सिकन्दर खाली हात नै धरती छाडेर जाँदैछ
- उदयचलदेखि अस्तयचलसम्मको भूपतिले केही लिएर गएको छैन
- सबै छाडेर जाँदैछ, यहीँ यसै धर्तीमा
- महानता ऊ बिश्वबिजेता बन्नुमा थिएन
- महानता मानवमात्रलाई एक पाठ सिकाएर जानुमा थियो
- मुट्ठी बाँधेर जन्मनेहरु मुट्ठी खोलेर जान्छन्
- दान, परहित परोपकार बन्दमुट्ठिबाट सम्भव छैन
- त्यतिबेला कलिङ्मा कतै आँसु खसेका थिएनन्
- खसुन कसरी ? आँसु झार्न रसिएका आँखा हुनुपर्छ, भित्र संवेदनाले भरिएको छाती हुनुपर्छ
- आँखा त मार्ग मात्र हो आँसुको, श्रोत त छाती नै हो
- जब मूल नै मरुभूमी भएपछि बर्षात्को आशा नै कहाँ रह्यो
- कुनै न कुनै सूत्रबाट, कुनै न कुनै आधारबाट लासमा बदलिएका ती मानवसागर मध्ये
- नातालाई केन्द्रिकृत गरेर अँगाल्ने कसलाई ?
- रोए पनि आँसु पुछ्ने कसले ? आँसु पुछिदिने कुनै हात पनि त बचेका थिएनन्
- बुढा शरीर त केवल श्वास मात्र फेरिरहेको थियो, हृदय त ढुंगो बनिसकेको थियो
- ढुंगोबाट बर्षात् भला कहिले हुन्छ र !
- मानवलासहरुको माहासागरको मध्यमा उभिएको थियो चण्ड
- लासहरुका मौन चित्कारले विजय दुन्दुभीका आवाज निलिदिएका थिए
- वृद्ध ओठका सस्केराहरुले लालपताकाहरु फहरिन बन्द भएका थिए
- रगतले लत्पतिएका हातमा बिजयी तरबार भारी भयो, खस्यो र एक झन्कार निकाल्यो
- शून्यताले त्यो झंकारलाई पनि निलिदियो, तर हृदयलाई त्यसैले चिर्न थाल्यो
- अट्टहास भयभीत पर्ने साधन, हुकुम जमाउने अस्त्र, तर को माथि ? लास माथि ? फलतः
- विजय अट्टहास बनेर ओठबाट निस्कन सकेन
- राज्य माटोको टुक्रा होइन् शासन माटोको टुक्रामा गरिन्न
- शासित हुने त मानव नै हुन्, ऊ जस्तै, हाडछाला युक्त जीव, विवेकयुक्त प्राणी
- लासले झुकेर कुर्नेस गर्दैन
- मस्तिष्क सोच्न बाध्य भयो, के माथि विजय प्राप्त भयो भनेर
- चण्ड जण्ड अन्य ग्रहबाट आएको प्राणी थिएन्
- यसै माटोको हिस्सा थियो, यही धर्तीको पानी मिसिएको थियो रगतमा
- चिसिएर बसे ढुङ्गामा पनि काइ पलाउँछ, ऊ त तातो थियो हृदयधारी मानव
- जब विवेक पलायो तब मन भटकियो, आनन्दहीन भयो, बेरस भयो
- काँप्न थाले हृदय, विजेता क्षणभरमै कायर भयो, निरिह देखियो, ओठ तालु सुक्न थाले
- जान्यो, रगतले प्यास मेटिदैन भनेर
- हृदयको आकूलता, मस्तिष्कको ब्याकूलतामा आत्मा जल्न थाल्यो
- अनायास ओठ बर्बराए शान्ती देही….. शान्ती देही
- पश्चात् यात्रामा निस्के शान्ती खोज्दै
- यहीँ आए, बुद्धजन्म भूमिमा, चारकिल्ला बाँधेर चीनो छाडेर गए सम्राट अशोकले
- जीवन हिसाब होइन्, दुई दुना चारको पाठ हमेसा रटिँदैन
- तर जीवन हिसाबसँग पनि जोडिएको छ, अंकको सुरुवात भन्दा अगाडि र पछाडि शून्य नै छ
- हाम्रा पुर्खाले शून्यलाई त्यसै आदिमा राखेका होइनन्, न त अन्त्यमा
- सुरुवात् शून्यबाट नै हुन्छ र अन्त्य पनि शून्यमा नै
- शून्यको यो हिसाबमा हामी आफैलाई चलाख घोषित गर्दै आजीवन गणना गरिरहन्छौ
- बिर्सिएर, महापण्डितको अनमोल वचन, “म शून्यमा शून्य सरी बिलाएँ”
- खगोल नै शून्य छ भने हाम्रो अस्तित्वको गणीतिय मान के ?
- अस्तित्वमा आएर अरबौँ खरबौँ बिलाए
- ती मध्ये केही नाम स्तुतिय छन्, बन्दनिय छन् प्रातःश्मरणीय छन्
- मुट्ठी खोलेर गएका थिए, मानवमात्रलाई दिएर गएका थिए त्यसैले स्तुतिय बने, बन्दनिय बने
- प्राप्तिको सतह चिल्लो चिप्लो हुन्छ, महानता त्यसमा टासिन या अडन सक्दैन
- दानी रहिमले नजर झुकाउँदै दान गर्थे, नजर झुकाउनुको कारण खोल्दै भनेका थिए
देनहार कोए और है जो देवत दिन रैन
लोग भरम हम पर धरो ता सो निचो नैन
- यहीँ लिएर यहिँकालाई दिने हामी मानव सभ्यताका बिचका कडिलाई दिँदा के को गर्व
- बलवान समयले शाशक गर्नेहरु निलिसकेको छ, हामी मध्ये कोहीलाई नै नेतृत्व, जिम्मेवारी
- र कार्यभार सुम्पेर
- तिनीहरूले बुझ्न जरुरी छ आजको आवश्यकता, आजको माग,
- अब गर्जो टारेर मात्र पुग्दैन, दिगदिगान्तलाई अटल हुनेगरि केही दिन नितान्त आवश्यक छ
- निश्चय गर्नु छ तिनले, दिन सकौँ गर्न सकौँ
- दिनसकेमा नै भविष्यमा स्तुत्य होलान्, बन्दनिय होलान्, नत्र प्रकृतिजन्य शून्यको हिसाब
- चलिरहन्छ
- समय चिन्तनाले यही दर्साएको छ ।