क्यान इन्फोटकमा युवाको आकर्षण

समाचार

काठमाडौँ, १५ माघ । सूचना तथा सञ्चार प्रविधिका विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित क्यान इन्फोटकमा युवाको निकै आकर्षण देखिएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल(क्यान) महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेकको बुधबारदेखि जारी २१ औँं संस्करण अवलोकन गर्न विशेषगरी युवा लालायित देखिएका छन् । बढ्दो विद्युत्भार कटौती समस्यामा उपयोग गरिने सामग्रीदेखि ल्यापटप, मोबाइललगायत सामानका कक्ष युवाले खचाखच भरिएका देखिन्थे ।

वर्तमान युग विज्ञान तथा प्रविधिको महत्वपूर्ण युग भएका कारण पछिल्ला समयमा भइरहेका प्रविधिको विकास पछिल्लो समयमा सबैको चासो र चर्चाको विषय भएको क्यान महासङ्घका अध्यक्ष विनोद ढकालले बताउनुभयो । “क्यानले आफ्नो कार्य क्षेत्रलाई बृहत् रुपमा अगाडि बढाउँदै समग्र देशको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई अघि बढाउने जिम्मेवारी बहन गर्ने सन्दर्भमा इन्फोटेक आयोजना गरेको हो”– उहाँले भन्नुभयो ।

पछिल्ला समयमा बढिरहेको प्रविधिको विकास हेर्न विशेषगरी युवा वर्ग लालायित भएको क्यान महासङ्घका अध्यक्ष ढकालको भनाइ छ ।

इन्फोटेकको जारी संस्करणको सुबिसु केबलनेट प्रालिले शीर्ष प्रायोजन गरेको छ भने एसोसिएट स्पोन्सर डेल÷इन्टेल बाई नियोटेरिक नेपालले प्रायोजन गरेको छ । इन्फोटकमा २१९ कक्ष छन् ।

प्रदर्शनीमा कम्पनीहरुले नवीनतम प्रविधि सार्वजनिक गर्नाका साथै विशेष प्रस्ताव र छुट उपहारका रुपमा ल्याएका छन् । सुविसु, सामसुङ, भायनेट, नेपाल टेलिकम, वेबसर्फर, वल्र्ड लिङ्कलगायत कक्षमा इन्फोटेकका सहभागीको निकै आकर्षण देखिन्छ ।

नेपाल टेलिकमले रु १०० मा १०० बराबरकै ब्यालेन्ससहितको सिमकार्ड वितरण गरिरहेको छ । टेलिकमका वरिष्ठ सहायक नारायण शङ्कर मल्लका अनुसार सिमकार्ड लिनेको क्रम हिजोभन्दा आज थप बढेको छ ।

इन्टरनेट सेवा प्रदायक संस्थाका साथै ल्यापटप÷कम्प्युटर, स्मार्टफोन, ट्याब्लेटलगायत कक्षमा युवा आकर्षित बनेका छन् । प्रदर्शनीमा सिमकार्ड जस्तै सानो आकारको किबी कम्पनीको (एमवान) मोबाइल तथा उक्त कम्पनीकै आठ इन्चको ठूलो आकारको मोबाइल पनि बिक्रीका लागि राखिएको छ ।

कम्प्युटरको बढ्दो प्रयोगका कारण एन्टिभाइरस किन्नेको क्रम पनि उत्तिकै बढेको बताउने प्रदर्शनीको एक कक्षका होमराज यादवले एन्टिभाइरस किन्नेको क्रम हिजोदेखि नै बढेको जानकारी गराउनुभयो ।

प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १५० र विद्यार्थीलाई रु ७५ तोकिएको छ । इन्फोटेकमा अवलोकनका लागि सरकारी विद्यालयबाट अग्रीम लिखित अनुरोधसहितको नामावली आएमा सम्बन्धित विद्यालयका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । आगामी सोमबारसम्म चल्ने इन्फोटेकमा यही माघ १८ गतेलाई ‘व्यवसाय दिवस’ का रुपमा आयोजकले घोषणा गरेका छन् ।

इन्फोटेक कम्प्युटरजन्य सामान किन्न मात्र नभएर नवीनतम प्रविधिको विकासबारे जान्न चाहने जो कोहीका लागि पनि उपयोगी भएको प्रदर्शनीका एक सहभागी सुदीप श्रेष्ठले बताउनुभयो । “बढिरहेको प्रविधिको विकास सबैको चासोको विषय हो, इन्फोटेकमा प्रविधिको विकासमा भइरहेका प्रगतिबारे जानकारी लिन पनि आफूजस्ता धेरै युवा विद्यार्थी आएका छन्” श्रेष्ठले भन्नुभयो । रासस

Post Comment