काठमाडौँ, १५ माघ । पूर्वसोभियत सङ्घ अर्थात् वर्तमान रुसबाट उच्च शिक्षा अध्ययन गरेर आएको जनशक्तिले नेपालका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताले बताउनुभएको छ ।
जनमैत्री विश्वविद्यालय रुसको ५५औं वार्षिकोत्सवका अवसरमा मित्रकुञ्ज संस्थाले आज यहाँ आयोजना गरेको ‘जनमैत्री विश्वविद्यालयले नेपालको मानव संसाधनमा खेलेको भूमिका’ विषयको कार्यशालाका वक्ताले नेपालको प्राविधिक क्षेत्रको दक्ष जनशक्ति निर्माणमा छात्रवृत्तिमार्फत सो विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा त्रिविका उपकुलपति डा हिराबहादुर महर्जनले रुसको जनमैत्री विश्वविद्यालयमा उच्च शिक्षा लिने नेपालीहरु अधिकांश त्रिविबाट प्रमाणपत्र अध्ययन गरेकाहरु नै भएको बताउँदै यसले दुवै विश्वविद्यालयबीच आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले रुसको जनमैत्री र सेन्ट पिटर्सवर्ग विश्वविद्यालयबीचसँग मात्रै त्रिविको सम्बन्ध रहेको जानकारी दिँदै रुसका अन्य विश्वविद्यालयमा पनि सम्बन्ध विस्तार गरी नेपाल र रुसका विद्यार्थीबीच भ्रमण आदानप्रदान गर्न आफू इच्छुक रहेको बताउनुभयो ।
नेपालका लागि रुसका राजदूत डा सेर्गेइ भासिलीभिच भेलिच्किनले चिकित्सा, इन्जिनियरिङ जस्ता विषयमा नेपाली विद्यार्थीलाई विगतदेखि नै रुसले छात्रवृत्ति प्रदान गर्दै आइरहेको जानकारी दिँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने वचन दिनुभयो ।
जनमैत्री विश्वविद्यालयका पूर्वविद्यार्थी एवं पूर्वमन्त्री गणेश साहले त्यहाँ अध्ययन गरेको जनशक्ति सिर्जनशील, क्षमतावान् र दक्ष रहेको जिकिर गर्नुभयो । रुसका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले शीतयुद्धको समयदेखि रुसले भर्खरै स्वतन्त्र भएका र अल्पविकसित राष्ट्रमा शिक्षाका लागि गरेको सहयोगले ती मुलुकमा विकासका लागि योगदान पुगेको बताउनुभयो ।
मित्रकुञ्जका अध्यक्ष नहेन्द्र प्रधानले मित्रकुञ्जले रुसमा अध्ययन गरेका पूर्वविद्यार्थीलाई आबद्ध गरिरहेको जानकारी दिनुभयो । छात्रवृत्ति र सशुल्क गरी अहिलेसम्म रुसबाट पाँच हजारभन्दा बढी नेपाली विद्यार्थीले उच्चशिक्षा हासिल गरेको जनाइएको छ । रासस